२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो ।

फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिनुभयो । “अर्को हप्ता तय भएको बैठकमा मुख्यगरी दुई देशको ऊर्जा सहकार्य, अन्तरदेशीय विद्युत् व्यापार, अन्तरदेशीय प्रशारणलाइन पूर्वाधार निर्माणलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पावर पर्चेज एग्रिमेन्ट) को विषय पनि यो बैठकको प्राथमिकतामा छ”, प्रवक्ता भेटुवालले भन्नुभयो ।

हाल ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्ने अनुमति पाएको ढल्केबर-मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रशारणलाइनबाट थप विद्युत् पठाउने विषय पनि यो बैठकमा नेपालले राख्नेछ । त्यस्तै, चार सय केभी नयाँ बुटवल-गोरखपुर, दुहबी-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारणलाइनका बारे पनि छलफल हुनेछ । भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेस गरेका आयोजनालाई स्वीकृति दिने विषयलाई नेपालले भारतसँग आग्रह गर्नेछ ।

दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर चार सय केभी प्रसारणलाइन निर्माणको प्रगति र भारतीय कम्पनी सतलज जलविद्युत् निगमले नेपालमा बनाइरहेको विद्यु्त् आयोजनाको प्रगतीबारे पनि छलफल हुने उहाँको भनाइ छ । नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण निर्माणको काम नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इण्डिया लिमिटेडको संयुक्त उपक्रममा बनेको कम्पनीबाट अघि बढाउने गरी दुई देशबीच सहमति भइसकेको उहाँको भनाइ छ ।

गत वर्ष फागुन १२ मा काठमाडौँमा सम्पन्न भएको जोइन्ट स्टेयरिङ कम्पनीको नवौंँ बैठकबाट नेपाल र भारतबीच संयुक्त रुपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा दुवै देशबाट तीन–तीनजना सदस्य सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय भएको थियो । उक्त प्राविधिक टोलीको कार्यप्रगतीबारे पनि समीक्षा गरिने जनाइएको छ । रासस