काठमाडौं । आगामी आइतबार बस्न लागेको सङ्घीय संसदको संयुक्त बैठकको तयारी बारेमा आज (शुक्रबार) सभामुख अग्निप्रसाद सापकोटाले बैठकको तयारी, अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे स्थलगत अवलोकन गर्नुभएको छ ।
यस्तै सभामुख सापकोटाले बिहान ११ बजे एन्टिजेन परीक्षण गर्नुभएको छ ।
बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, दुवै सदनका सांसदहरु, सङ्घीय संसद् सचिवालयका महासचिव, सचिवसहित पदाधिकारी र कर्मचारीहरु, संसदीय रिपोर्टिङ गर्ने पत्रकारको एन्टिजेन परीक्षण गरिएको छ ।
संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षण जारी रहनेछ । सङ्घीय संसद्को संयुक्त बैठक असार ३ गते अपरान्ह ४ बजे बस्ने तालिका छ ।