काठमाडौं । सरकारले २८ प्रतिशत भाडा बढाएसँगै सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरिएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको नयाँ भाडादर अनुसार अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरिएको हो ।
तत्कालीन केपि शर्मा ओली नेतृत्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ।
ओली सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो। यता, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएको छ।
विभागका अनुसार यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो।
अहिले त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएको विभागले जनाएको छ।