काठमाडौं । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।
एक महिनाअगाडि स्वास्थ्यमा खराबी आएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । उनकी साथी तथा कलाकार दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर पल्पसाले आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।
पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाएका छन् । स्वास्थ्य गम्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । सुरवीरबाटै थाहा पाएर आफू आज अस्पताल पुगेको दिपाश्रीले बताइन् ।
पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षा गर्दै आएकी छन् ।
मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको आह्वान गरिएको छ । पल्पसा केही समयअघिसम्म पनि अभिनयमा सक्रिय नै थिइन् ।
लकडाउनका कारण हास्य टेलिश्रृंखला मेरीबास्सैको छायांकन रोकिनुअघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् । मेरीबास्सैको सुरुवातदेखि नै उनले त्यसमा काम गरेकी थिइन् ।











