१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

विधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी हुनुहुन्छ । घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उहाँ विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै यस वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्दा दङ्ग पर्नुभएको छ ।

“भिरालो पाखोमा धेरै दुःख गर्दा वर्षमा जेनतेन २० मुरी धान फल्थ्यो”, उहाँले भन्नुभयो, “त्यही ठाउँमा छ सय बिरुवा सुन्तला लगाएकामा अहिले करिब तीन सय ५० बोटमा फल्दा पनि रु ११ लाख आम्दानी भएको छ ।” गत वर्ष उहाँले सात लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो । लगाइएका सबै बिरुवामा सुन्तला फल्दा हालकोभन्दा दोब्बर बढी आम्दानी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । फल साना लाउने र उत्पादन कम दिने पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने गरेको उहाँको भनाइ छ ।

परम्परागतरुपमा ख्याति कमाएको कास्की र आसपासका जिल्लामा सिक्टस ग्रिनिङ भाइरसलगायतका रोगको प्रकोपका कारण सुन्तला सखाप भएका अवस्थामा पोखरा महानगरपालिकाले पाँच वर्षदेखि सञ्चालन गरेको ‘मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रम’ आफूहरुका लागि वरदान सावित भएको उहाँले बताउनुभयो । झण्डै ४५ वर्षअघि २०३४ सालमा बुबाले सुरु गर्नुभएको व्यावसायिक सुन्तला खेतीबाट राम्रो आम्दानी भए पनि प्रत्येक वर्ष बोट मर्दै गएपछि चिन्तित बन्नुभएका पौडेलले भन्नुभयो, “बढ्दो रोगको कारण नष्ट भइसकेको सुन्तलाका बोट प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले बचाउनुका साथै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ ।”

गत वर्ष सुन्तला बिक्री गरेर दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएका स्थानीय अर्का कृषक नारायण पौडेल यस वर्ष तीन लाख ५० हजार रुपैयाँ आम्दानी भएकामा खुसी व्यक्त गर्नुहुन्छ । ठेकेदारले तोकेको मूल्यमा सुन्ताला बोटबाटै बिक्री गर्न बाध्य भएको बताउँदै उहाँले सरकारले बजारीकरण सहयोग गर्ने हो भने यस वर्षको सुन्तला बिक्रीबाट पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उल्लेख गर्नुभयो ।

उत्पादित सुन्तला बिक्री हुँदैन कि भन्ने चिन्ता भने यहाँका किसानलाई छैन । ठेकेदार बगैँचामै खरिद गर्न आउने उनीहरु बताउँछन् । फेदीपाटनका कृषकले यस वर्ष ठेकेदारमार्फत सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । सिक्टस ग्रिनिङलगायतका भाइरस रोगका कारण सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएपछि व्यावसायिक सुन्तला खेतीमा कृषकलाई प्रेरित गर्ने उद्देश्यले महानगरले सो अभियान सञ्चालन गरेको हो ।

किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यका साथ पाँच वर्षदेखि सञ्चालित अभियानअन्तर्गत हालसम्म पाँच सय कृषकलाई ६५ लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ । यस आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान प्रदान गर्दै आएको बताउँदै उहाँले घोषित पकेट क्षेत्रका दुई सय चारभन्दा बढी बगैँचाका २० हजार बिरुवाले उत्पादन दिएको बताउनुभयो ।

महानगरपालिका–२१ को फेदीपाटन र कृस्ती तथा वडा नं २२ को खाल्सेमा यो अभियान सञ्चालन भएको छ । महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “चालु आवमा दुई सय चार कृषकलाई सुन्तला बगैँचामै पुगेर बोट सङ्ख्याका आधारमा रु २० लाख बराबरको अनुदान वितरण गरिएको हो ।”

कास्कीको यो क्षेत्र असिनाजन्य विपद्बाट बढी प्रभावित हुने जिल्ला भएकाले त्यसबाट पनि सुन्तलालाई जोगाउन आवश्यक छ । कडरियाले भन्नुभयो, “असिनाबाट क्षति कम गर्नका लागि सुन्तलाको बोटमाथि नेट राख्नुको विकल्प छैन ।” एक रोपनी क्षेत्रफलमा नेट लगाउँदा २५ देखि ३० हजारसम्म खर्च लाग्छ । नमुनाका रुपमा कृषकले केही बगैँचाका बोटमा नेट राखेका थिए तर यस वर्ष भने असिना नपर्दा कृषकले राम्रोसँग खेती भित्र्याएका छन् ।

पाँच वर्षभन्दा माथिका सुन्तलाका बोटलाई महाशाखाले रु १०० अनुदान दिँदै आएको छ । पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट रु चार सय र त्योभन्दा माथिको हकमा आठ सय रुपैयाँ कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको उहाँको भनाइ छ । बगैँचा व्यवस्थापन कार्यक्रमले बोटको संरक्षण गर्दै उत्पादनमा समेत वृद्धि भई व्यावसायिक सुन्ताला खेतीमा आशा जगाएको फेदीपाटनका कृषक नारायण पौडेल बताउनुहुन्छ ।

प्रत्येक वर्ष सुन्तला खेतीमा रोगको प्रकोपसहित जङ्गली जनावरबाट पनि यहाँका किसानलाई ठूलै क्षति हुने गरेको छ । जङ्गली जनावरको आगमनका लागि विशेष ध्यान दिइएका कारण विगतको तुलनामा यसवर्ष वन्यजन्तुले धेरै क्षति गर्न पाएन । साथै, महानगरले सञ्चालन गरेको बगैँचा व्यवस्थापन कार्यक्रममार्फत कृषकहरुमा जनचेतना अभिवृद्धि हुँदा उत्पादनमा वृद्धि भएपछि यहाँका कृषकमा सुन्तला खेतीप्रति आकर्षण बढेको छ ।

दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन, मास्पाटन, खच्र्याङ, खाल्से, कृस्तीजस्ता ठाउँहरु चर्चित थिए । पछिल्ला वर्षमा भरतपोखरी, हंसपुर, पुरञ्चौर लगायतका क्षेत्रमा रोगको प्रकोपका कारण बोट टुप्पाबाट सुकेर मरेपछि सुन्तला चाख्न पनि रहर बनेको छ ।

महानगरले सञ्चालन गरेको यस कार्यक्रमको पकेट क्षेत्रमा भने कृषकहरुले सुन्तला विक्रीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । पोखरा बजारसहित हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिने प्रचुर पर्यटकीय सम्भावना रहेको यस क्षेत्रमा बिहानको झुल्के घाम पर्ने पारिलो पाखोमा फलेका सुन्तलाका दाना ठूलो र खाँदा स्वादिलो भएको कारण यहाँको सुन्तलाको बजार मूल्य राम्रो रहेको पोखरा महानगरपालिका–२१ का अध्यक्ष दिपक सुवेदी बताउनुहुन्छ ।

उहाँका अनुसार उत्पादिन सुन्ताला बिक्रीबाट कृषकले लगभग रु १० करोड वडामा भित्र्याएका छन् । सम्भाव्यता अध्ययनका आधारमा अन्य स्थानमा पनि सुन्तला खेती विस्तार गर्नका लागि कृषकलाई आवश्यक सहयोग गर्ने तयारी भइरहेको छ । यस क्षेत्रमा उत्पादित सुन्तला पोखरालगायत मुख्य सहर काठमाडौँ, भरतपुर, विराटनगरसम्म पु¥याउने गरेको ठेकेदार बताउँछन् ।

पोखरा महानगरपालिका कृषि महाशाखाले सञ्चालन गरेको कार्यक्रम लागू भएका क्षेत्रमा उत्पादित सुन्तलाको हालै प्रदर्शनी आयोजना गरिएको थियो । सुन्तला खेतीतर्पm कृषकलाई थप आकर्षण गर्ने लक्ष्यका साथ पोखराको बिरौटामा यही पुसको ११ देखि १४ गतेसम्म सञ्चालन भएको प्रदर्शनीमा तीन लाख मूल्यबराबरको सुन्तला बिक्री भएको महानगरले जनाएको छ ।

बोटमा फलेका सुन्तला टिपेर बिक्री गरी राम्रो आम्दानी लिएका कृषक यतिखेर तिनै बोट गोडमेल र उपचारमा व्यस्त भएका छन् । यसवर्षको उत्पादन लिएका कृषक अर्को वर्ष उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ गोडमेलसहित बगैँचा व्यवस्थापनमा जुटेका हुन् । पोखरा फेदीपाटनका कृषक नारायण पौडेल, प्रकाश पौडेललगायतका अधिकांश कृषक यतिखेर सुन्तलाको बोटको फेदमा प्राङ्गारिक मल, पानी र छापोकृषि चुनासहित बोटमा निलोतुथोको मिश्रण छर्न व्यस्त देखिनुहुन्छ । महाशाखा प्रमुख मनहर कडरियाका अनुसार यसवर्ष कार्यक्रम लागू भएका तीनवटै समूहमा एक÷एक थान पावर स्प्रे अनुदानमा उपलब्ध गराइएको छ । रासस