२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् बैठक सम्पन्न, यी हुन् सरकारले गरेका निर्णय



अ+ अ-

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’

सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिदैँ अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरुलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरुलाई आव्हान गर्दछ ।’

मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अबसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।