१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

फेरियो पश्चिम बागलुङको दुर्गम गाउँ बोबाङको मुहार

फेरियो पश्चिम बागलुङको दुर्गम गाउँ बोबाङको मुहार
अ अ+ अ-

ढोरपाटन । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली पनि बदलिएको छ । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गएका छन् ।

स्थानीय पनि शिक्षित बन्दै गएका छन् । यहाँका स्थानीयहरु घुम्ती बसाइँ गर्ने हुँदा बोबाङगाउँमा विकासले गति लिन सकेको थिएन । हिउँदमा बोबाङ र वर्षातको समयमा ढोरपाटन बस्ने हुँदा यहाँ सडक सञ्जाल पनि ढिला पुगेको थियो । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पर्ने यो गाउँ हेर्दा बजारभन्दा कम छैन । बहुप्रतिक्षित ढोरपाटन सिकार आरक्षको ढोकाका रुपमा रहेको बोबाङ गाउँ राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडकले बीच भागबाटै चिररे गएपछि यस ठाउँमा विकासले गति लिन थालेको छ ।

यस सडकले त विकासको दैलो नै खोलिदिएको छ । सडक आएपछि गाउँमा धेरै परिवर्तन आएको स्थानीय बताउँछन् । यो सडक बोबाङलगायत सिङ्गो भुजीखोलेवासीका लागि वरदान साबित भएको छ । सडकले हजारौँको जीवन बदलिदिएको छ । गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्ने स्थानीय अहिले घरघरमा दोकान सञ्चालन भएपछि दङ्ग छन् । जीवनको अधिक समय गाडी नदेखाका, नचढेका वृद्धवृद्धाहरु घरै अगाडि गाडी गुड्दा चकित छन् । स्थानीय ८३ वर्षीया पुतली विकले आफ्नो जीवनकालमा पहिलो पटक २०६९ सालमा गाडी देखेको बताउनुहुन्छ ।

“हाम्रो जस्तो दुर्गम गाउँमा गाडी आउला भन्ने त हामीले कल्पनासमेत गरेका थिएनौँ, आए पनि हामी मेरेपछि मात्रै आउला भनेका थियौँ, यति छिट्टै गाउँमा गाडी आयो, हाम घाँस दाउरा गरेर खाने मान्छेको गाउँमा गाडी चल्दा खुसी लाग्छ,” विकले भन्नुभयो, “पहिला हामीहरुले गाडी आउँदैन होला भनेर कल्पना गरेको कुरा गलत रैछ, हेर्नु त अहिले घरै अगाडि सररर गाडी गड्छन्, मेरो बुढा ९श्रीमान्० ले गोरखपुर पुगेर गाडी देखेको कुरा गर्दा पनि रमाइलो लाग्थ्यो ।”

विकले पहिले गाउँमा गाडी नआउँदा खाद्यान्न किनमेलका लागि बुटवल, पाल्पा र पछिपछि बुर्तिबाङ पुग्ने गरेको स्मरण गर्दै अहिले गाउँमै दोकान पसलहरु खुलेको बताउनुहुन्छ । अहिलेका नयाँ पुस्ताले पुरानो पेसा छोडेर नयाँ व्यवसायहरु गर्न थालेको उहाँको भनाइ छ । पहिले पशुपालन र खेतीपाती गरेर परिवार चलाएकामा अहिले व्यापार, व्यवसायसँगै विदेश गरेर कमाउन थालेको विक बताउनुहुन्छ ।

“पहिले गाउँमा चामल आउँदैनथ्यो, भात खान दसैँ नै आउनुपथ्र्यो । अहिलेको मुख्य खान्की भात हो । चामल ल्याउन, सहर बजार जानु पथ्र्यो, दुई साता लाग्थ्यो । अहिले त घरघरमा दोकान छन्, चामलको अभाव छैन,” उहाँले भन्नुभयो, “गाउँमा पहिलेको जस्तो खेतीपाती र गाईभैँसी पाल्न छोडे, अहिले त पसल खोल्न, सामान बेच्ने, कोही विदेश जाने गर्छन्, दुःख कम छ अहिले त ।”

स्थानीय नरबहादुर पुनले नुन चामल बुटवलबाट बोकेर उपभोग गरेको अनुभव सुनाउँदै अहिले घरमै नुन तेललगायत चाहिने सामान आएको बताउनुभयो । उहाँले त्यस बेलामा आफूहरुले निकै दुःख भोगेको स्मरण गर्दै अबका पुस्ताले त्यो समस्या भोग्न नपर्ने बताउनुहुन्छ । “आजभन्दा ४० वर्षपहिले ११ दिन लगाएर बटौलीबाट नुन, तेल बोकेर खान्थ्यौँ, अहिलेको जस्तो घरघरमा आउने थिएन, बाटोमा बास बस्दै जानुपथ्र्यो, बास बस्दै आउनुपथ्र्यो धेरै दुःख थियो हजुर ऊ बेला, अहिले त जहाँ भन्यो त्यहीँ, जे भन्यो त्यहीँ पाइन्छ,” पुनले भन्नुभयो, “सुविस्ता ९सुविधा० भएको छ अहिले, हाम्रा छोरानातिलाई धेरै दुःख गर्नु पर्दैन, यो सुविस्ता म बुढोले पनि लिन पाएँ, निकै खुसी लागेछ, अझै परिवर्तन भइरहेको छ ।”

उहाँले पैदल हिँडेर नौ दिनमा बुटवल पुगेको भन्दै बाटोमा खाने खर्च बोकेर जाने गरेको समेत सुनाउनुभयो । पहिले नौ दिन लगाएर जाने बुटवल अहिले एकै दिनमा पुग्न सकिने पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नुन ल्याउन जाँदा खर्चपर्च बोकेर जानुपथ्र्यो, बाटोमा बास बस्दै जान्थ्यौँ, पानी झरी गर्दा निकै कष्ट हुने गथ्र्यो, अहिले सबैथोक घरमै आउँछ, हामी नौ÷नौ दिन लगाएर जाने बटौलीमा अहिले त एकै दिनमा पुगिन्छ, उस्तै परे बिहान गएर बेलुकी खाना खान घरै आइन्छ, हेर्नु त कति परिवर्तन भयो अहिले रु अहिले यस्तो विकास देख्दा अचम्म लाग्छ ।”

स्थानीय प्रेमबहादुर पुन मगरले मोटरबाटोले यस क्षेत्रको मुहार फेरिदिएको बताउनुभयो । उहाँले मोटरबाटो गाउँमा आएपछि धेरैलाई शिक्षित र सभ्य बनाएको भन्दै विकासका अन्य ढोकाहरु पनि खुला गरेको बताउनुभयो । भर्खर–भर्खर विकासका कामहरुले गति लिन थालेको भन्दै पहिलेको जस्तो यहाँका नागरिकहरु पढ्नबाट वञ्चित र स्वास्थ्य उपचारबाट टाढा हुन नपरेको बताउनुहुन्छ ।
“आजभन्दा १० वर्षपहिले यो ठाउँ निकै पिछडिएको थियो, धेरै नागरिक अशिक्षित थिए, यहाँ सामाजिक विकृति विसङ्गतिका धेरै घटना हुने गर्थे र बाहिरबाट कोही नयाँ मान्छे आयो भने बस्ने वातावरण पनि थिएन । तर अहिले धेरै परिवर्तन भएको छ”, उहाँ भन्नुहुन्छ, “अहिले सबै तिर विकास हुँदैछ, बालबालिकाहरु पनि विद्यालय जान थालेका छन्, बिरामी पर्दा धामी झाँक्री गर्ने प्रचलन त छ तर अहिले सडकले गर्दा सरर बुर्तिबाङ अस्पतालमा पुगिहाल्छन्, उपचारका लागि पनि समस्या छैन ।”

उहाँले सडक सञ्जालले गाउँदेखि ढोरपाटन जोडिएपछि व्यापार व्यवसाय गर्नेहरुसमेत बढिरहेको बताउनुभयो । उहाँले पहिले सामान लिन बुर्तिबाङ पुग्ने बाध्यता रहेको भन्दै अहिले त्यो समस्या हटेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला त यहाँ पसलहरु पनि खासै थिएन, केही सामान चाहिएर किन्नु परेमा बुर्तिबाङ नै पुग्नुपर्ने बाध्यता थियो, तर अहिले त घरघरमै पसल छन्, सबै सामान गाउँमै किन्न सकिन्छ, पहिला घोडा खच्चडमा र भरिया लगाएर सामान लिने गर्थे, अहिले त्यो प्रचलन पनि हट्यो घोडा खच्चडको प्रयोग पनि कम हुन्छ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले २०६६ सालमा बोबाङ गाउँ सडकले जोडिएको भन्दै त्यसयता बिस्तारै विकास हुँदै आएको बताउनुभयो । अहिले यस क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेको बताउनुहुन्छ । उहाँले भौतिक पूर्वाधारसँगै स्थानीयको जीवनस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरुसमेत ल्याएको बताउनुहुन्छ ।

उपप्रमुख कायत भन्नुहुन्छ, “बोबाङ क्षेत्र पहिलेदेखि नै पिछडिएका ठाउँ हो, पहिले राज्यको नजर पुग्न सकेको थिएन, अहिले धेरै परिवर्तन आएको छ, विकासमै सडक मुख्य रहेछ, सडक पुगेपछि स्थानीयको जनचेतना पनि वृद्धि भयो, स्वास्थ्य, शिक्षालगायत विकासका पूर्वाधारले पनि यो ठाउँ जोडिँदै गएको छ, हामीहरुले अब गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ ।” रासस