१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल

बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल
अ अ+ अ-

भरतपुर । “आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै हुनुहुन्थ्यो । उहाँले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो ।

केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । भरतपुर महानगरपालिका–१० स्थित विद्यालयको हीरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावकप्रतिको माया र दायित्ववोध गराउन ‘अभिभावक स्याहार–सुसार’ कार्यक्रम आयोजना गरेको हो ।

आँशुले टिलपिल भएको आँखा पुच्दै अभिभावक प्रियङ्का शाहले भन्नुभयो, “सधैँ यस्तै व्यवहार छोराछोरीले गरुन् भन्ने आश छ । घरमा पनि मलाई सहयोग गर्छन् तर आज स्कुलले सिकाएजस्तै सधैँ गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।” शाहले छोराछोरीको माया स्कुलको कार्यक्रममार्फत् महसुस गर्न पाउँदा खुसी लागेको अनुभव सुनाउनुभयो । शाहकी छोरी ४ कक्षामा अध्यनरत छिन् ।

शारीरिकरूपमा दृष्टिविहीन अभिभावक डोलकुमारी ढकालले व्यवहारिक शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका छोरा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । ढकालले विद्यालयबाटै पारिवारिक शिक्षा दिन सके खुसी परिवार निर्माण गर्न सकिने विचार राख्नुभयो ।

सानै उमेरदेखि बच्चालाई काम गर्न, असल ज्ञान दिन जरुरी रहेको उहाँको भनाइ छ । उहाँका छोरा सागर ढकालले अरुका लागि नौलो कुरा भए पनि आफ्ना लागि भने दैनिकीजस्तै लागेको बताउनुभयो । “मेरो ममीले सानैदेखि मलाई काम गर्न सिकाउनुभएको छ । ममीको स्याहारसुसार पनि गर्दै आएको छु”, सागरले भन्नुभयो ।

अभिभावक रुपक लामिछानेले यस्ता खालका अभियान र कार्यक्रमले मात्रै अभिभावकलाई वृद्धाश्रम जानबाट रोक्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुवालाई आश्रम छाडेका छैनन् । हात–मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन्, यो दुवै समस्याको अन्त्य हुनुपर्छ ।”

कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक विशाल अधिकारीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनका लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

विद्यालयले नेपालमा नै पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । वृद्धाश्रमलाई घटाउने र आफ्नै घरमा भएको मीठो–मसिनो खाएर अभिभावकलाई सम्मानपूर्वक खुवाउने र स्यारसुसार गर्ने बनाउन स्कुलमा यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

“कलिलो दिमागमा नै यो सन्देश पसोस् भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “विद्यालयमा सिकेको कुरा भविष्यसम्म उनीहरुमा छाप बस्छ ।” शिक्षकले जे कुरा सिकायो विद्यार्थीले त्यही कुरा सिक्ने हुँदा विद्यालयस्तरबाट यसलाई सामाजिकस्तरसम्म लैजानुपर्ने उहाँको भनाइ छ ।

सानै उमेरमा आमाबुवा र हजुरबुवा गुमाउनुभएका अधिकारीले समय परिस्थिति अनुकूल कार्यक्रम ल्याएको जानकारी दिनुभयो । हजुरआमाले कष्ट गरेर शिक्षकसम्म बनाएको सम्झँदै उहाँले आफ्नोजस्तो हजुरआमा, बुवा वृद्धाश्रममा देख्दा असैह्य हुने बताउनुभयो । यसलाई जरैदेखि निको पार्न विद्यालयदेखि नै विद्यार्थीलाई सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दबाडीले एकले अर्कालाई हेप्ने होइन सम्मान गर्ने बानीको विकास हुनुपर्ने भन्दै यो संस्कार सबैलाई सिकाउनुपर्ने बताउनुभयो । विद्यालयले गरेको कार्यक्रमले सबैलाई सकरात्मक सन्देश दिएको उहाँको भनाइ छ ।

“सबैतिर सकारात्मक सन्देश प्रवाह भएको छ, म धेरै खुसी भएको छु”, उहाँले भन्नुभयो । विद्यार्थीले बनावटीमात्रै नभएर दिल खोलेर आफ्ना अभिभावकसँग प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल र अन्य कारणले आफ्नो घरपरिवार र आफन्तसँगको सम्बन्ध पनि टाढा बनाएको भन्दै त्यसको अन्त्य स्कुलबाट मात्रै सम्भव भएको प्राचार्य दबाडीले बताउनुभयो ।