• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित)

गाँउमै भैँसीपालनबाट मनग्य आम्दानी



फाईल फोटो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहनुभएको छ । उहाँ यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँका बिसमुरे फार्ममा १० भैँसी छन् । परिवारको साथले भैँसी पाल्न सहज रहेको उहाँ बताउनुहुन्छ । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा राम्रो आम्दानी हुने बताउनुहुन्छ ।

नगरपालिकाले बीमा लगायतमा सहयोग गरे पनि अझै किसानलाई सहयोग गर्नुपर्ने उहाँको माग छ । घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उहाँको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय जिल्लाका युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलमा बिक्री गर्दै आएका किसानले अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा आम्दानी हुने र पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने तथा दूध उत्पादन गर्ने किसान बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्ने बढेका छन् । किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानीका अर्का किसान बच्चुराम गिरीले बताउनुभयो ।

नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक रु ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।”

उहाँका अनुसार मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड छ ।