१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै
अ अ+ अ-

बेनी । धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत मुनाको घट्टेखोलामा कायम गरे ।

तत्कालीन मुना गाउँ विकास समितिको भवनमा थप भौतिक पूर्वाधार निर्माण गरेर सेवाप्रवाह भइरहेको यस गाउँपालिकावासीले सरकार गाउँमै पुगे पनि विकासका आधारभूत पूर्वाधारसँगै सेवा र सुविधाबाट समेत अझै बञ्चित छन् । मुख्यगरी सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने सडक र गाउँपालिकादेखि वडा जोड्ने सडकको अवस्था दयनीय छ । यस गाउँपालिकाको वडा नं १ गुर्जामा अझै सडक सञ्जाल पुग्न सकेको छैन भने दर्जन बढी अन्य वडाका बस्तीमा पनि सडक पुगेको छैन ।

सदरमुकाम बेनीबाट गाउँपालिकाको केन्द्र मुना जोड्ने अधिकांश सडक कच्ची छ । हिउँदमा धुलो, बर्खामा हिलोका कारण सडक जीर्ण अवस्थामा छन् । विकासका आधारभूत पूर्वाधार मानिने सडकको सहज पहुँच नभएकै कारण धवलागिरिवासीले गाउँमा सरकार पुगे पनि विकासको अनुभूति गर्न नपाएको मुनाका स्थानीय युवा विजय भण्डारीले बताउनुभयो ।

“सरकार त गाउँमा आयो, तर अहिलेसम्म मोटरबाटो राम्रो बन्न सकेको छैन, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, खानेपानीलगायतका अन्य पूर्वाधारको पनि कमि नै छ”, उहाँले भन्नुभयो । हिलो, धुलो, भिर र साँघुरा सडकमा दैनिकरूपमा सदरमुकाम बेनी आउने दर्जनौँ सवारीसाधन जोखिमपूर्ण तवरले ओहोर–दोहोर गर्नुपर्ने बाध्यतामा छन् ।

मुनामा अहिलेसम्म बैंकको स्थापनासमेत भएको छैन । सडकको सहज अवस्था र सुरक्षाको बन्दोबस्त नहुँदा धवलागिरि गाउँपालिकाको वित्तीय कारोबार ताकममा रहेको प्रभु बैंकको शाखामार्फत हुने गरेको छ । उपभोक्ता समितिले समेत पालिकामै वित्तीय पहुँच नहुँदा सास्ती व्यहोरेका छन् । भर्खर मात्रै मुनाको घट्टेखोलामा गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण सुरु भएको छ ।

सडकको अवस्था स्तरीय नभएको र दुर्गम पालिकाका रूपमा रहेकाले कर्मचारीसमेत आउन नमान्ने र आएका पनि टिकेर नबस्ने भएकाले सदरमुकामबाट पालिकासम्म स्तरीय सडक बनाउने योजनाका लागि पहल थालिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । धवलागिरि गाउँपालिकाको मुनालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–बावियाचौर–दरबाङ–ताकम–मुना सडक पश्चिम म्याग्दीकै भाग्यरेखा मानिन्छ ।

जिल्लाका तीन स्थानीय तह समेटिएको यस सडकलाई स्तरीय बनाउन बजेट विनियोजन भएर आयोजना सञ्चालन भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले योजना थलिएका छन् । बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्मको सडक कालोपत्रको काम सकिए पनि त्यहाँदेखि माथिको सडक कालोपत्र र ग्राभेलका लागि सञ्चालन भएका आयोजना थलिएका छन् ।

थलिए दुई आयोजना

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरबाङ–मुना सडकखण्डअन्तर्गत सिमबाट रनवाङसम्मको चार किलोमिटर सडकलाई कालोपत्र गर्न सञ्चालन भएको सडकको काम सुस्तगतिमा अघि बढेको छ । डिबिएसटी प्रविधिको कालोपत्र गर्ने गरी २०७८ पुस १८ मा पूर्वाधार विकास कार्यालयसँग अमर–देवसयर जेभीले रु १० करोड ७० लाखमा ठेक्का सम्झौता गरेको थियो । सडक पराकिलो बनाउनेलगायतका काम सुरु गरेको यस योजनाको आगामी असारसम्म निर्माणकार्य सम्पन्न गर्ने म्याद रहेको छ ।

हिउँदयाम मध्य भइसक्दासमेत निर्माण कम्पनीले आवश्यक जनशक्ति र निर्माण उपकरण परिचालन गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रनबाङबाट मालिका गाउँपालिकाको केन्द्र दरबाङसम्मको छ दशमलव आठ किलोमिटर लामो सडकलाई कालोपत्रका लागि सञ्चालन भएको योजना अधुरै छ ।

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभीले अहिलेसम्म जम्मा ५० पतिशतमात्रै भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदक्त अधिकारीले जानकारी दिनुभयो । गत वर्षदेखि नै काम छाडेको निर्माण कम्पनी अहिलेसम्म पनि कार्यक्षेत्रमा नफर्किएपछि लिखित र फोनमार्फत पटक–पटक ताकेता गरिएको उहाँले बताउनुभयो ।

“मुख्य ठेकेदारले काम नगर्ने, पेटीमा काम गर्नेले मूल ठेकेदारबाट पैसा नपाएपछि बीचैमा काम छाड्ने भएकाले जिल्लाका ठूला आयोजना अधुरा र अलपत्र पर्ने अवस्थामा पुगेका हुन्, हामीले निरन्तर ताकेता गरिरहेका छौँ, बहुवर्षीय योजनामा बजेट पनि आएको छ, तर निर्माण कम्पनीले काम गर्ने तत्परता देखाएका छैनन्”, उहाँले भन्नुभयो । यस योजनामा निर्माण कम्पनीले रु १४ करोड ९७ लाख भुक्तानी लगिसकेको छ । यस वर्षका लागि मात्रै रु पाँच करोड बजेट आएको र निर्माण कम्पनीले काम गरे थप बजेटको समेत सुनिश्चिता गर्ने मन्त्रालयबाट प्रतिबद्धता आएको कार्यालयले जनाएको छ ।

दरबाङ–धारापानी ग्राभेल हुँदै, धारापानी–मुना सडक अनिश्चित

मालिका गाउँपालिकाबाट धवलागिरि गाउँपालिकाको मुना जोड्ने सडकखण्डअन्तर्गत धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजनाले तीव्रता पाएको छ । दरबाङ–दाङखोला–धारापानीसम्मको सात किलोमिटर सडकलाई ग्राभेलका लागि योजना सञ्चालन भएको छ । विस २०७६ चैत ४ मा रु १४ करोड ३८ लाखमा ठेक्का सम्झौता गरेको कुँबर–ब्राइट जेभीले सडक पराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने कामलाई तीव्रता दिएको छ ।

दरबाङबाट दाङखोलासम्मको कामलाई तीव्रता दिइएको र ग्राभेलका लागि सबवेससमेत सडकमा पु¥याइसकिएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद हुमागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बादिकाको भिरमा सडकलाई फराकिलो बनाउने, ग्याविन पर्खाल लगाउने कामसमेत सुरु भएको छ । दरबाङबाट धारापानीसम्मको सडकलाई छदेखि सात मिटर फराकिलो बनाउने र ग्राभेल गर्ने गरी सञ्चालन भएको योजनाको अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष बादिकाको उकालो भिरमा सडकको नयाँ ट्रयाक नै खनेर ग्रेड मिलाइएको छ । गत असारसम्म रु आठ करोड ९१ लाख खर्च भएको यस योजनामा यस वर्ष रु चार करोड बजेट आएको र निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेमा थप बजेटसमेत माग गरिने कार्यालयले जनाएको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट धवलागिरि गाउँपालिका–७ धारापानीसम्मको सडकलाई ग्राभेल गर्ने योजना सञ्चालन भए पनि त्यहाँदेखि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकलाई भने कुनै पनि निकायबाट बजेट विनियोजन भएको छैन ।

धारापानीबाट मुना नजिकैसम्मको करिब १० किलोमिटर सडकलाई गत वर्ष भौतिक पूर्वाधार सहरी विकास मन्त्रालयले सर्भे गरी डिपिआर तयार गरेको भए पनि अहिलेसम्म स्तरोन्नतिसहित कालोपत्रका लागि बजेट विनियोजन भएको छैन । गाउँपालिकाको केन्द्रसम्मको जीर्ण सडकलाई स्तरीय बनाउनका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो ।

“दरबाङबाट धारापानीसम्म ग्राभेल गर्ने सडकलाई पनि कालोपत्र योजना माग गरेका छौँ, धारापानीबाट मुनासम्मको सडकलाई कालोपत्रसहितकै योजना सञ्चालन गर्न फाइल बोकेर प्रदेश र सङ्घीय सरकारलाई गुहार्दै आएका छौँ”, उपाध्यक्ष पुनले भन्नुभयो ।

मध्यपहाडीको वैकल्पिक सडक अधुरै

धवलागिरिको केन्द्र म्ुनाबाठ खोरिया हुँदै जलजला–ढोरपाटन–रुकुम जोड्ने सडक अधुरो रहेको छ । यो सडक निर्माण भएमा बागलुङ हुँदै निर्माण गरिएको मध्यपहाडी लोकमार्गभन्दा ६० किलोमिटर छोटो हुनेछ । मध्यपहाडीको वैकल्पिक सडकका रूपमा बेनी–दरबाङ–ताकम–मुना हुँदै ढोरपाटन र रुकुम जोड्ने गरी सडक निर्माण गर्न गाउँपालिकाका जनप्रतिनिधि र जिल्लाका सांसदले समेत माग गर्दै आएका छन् ।

धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिका र प्रदेश सरकारमार्फत पूर्वाधारतर्फ सडक विस्तारको योजनालाई प्राथमिकतामा राखेको छ । वडा नं २ लुलाङ पुगेको सडकलाई गुर्जासम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष रु एक करोड २० लाखको योजना सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिकाबाट रु ४५ लाख र प्रदेश सरकारमार्फत रु ८० लाख बजेट विनियोजन भएको र निर्माणकार्य सुरु गर्ने तयारी भएको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं ४ मुदीको खिबाङमा सडक सञ्जाल पुर्याउन प्रदेश सरकारमार्फत रु ५० लाखको योजना आएको छ भने मल्कबाङबाट मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले रु २५ लाख विनियोजन गरेको छ । गाउँपालिकामार्फत सञ्चालित हुने योजना सर्भे र सम्झौताको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो । रासस