२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । 

बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि पार्टी अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेहरुलाई विगतका गल्तीहरुलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताउनुभएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीको एकतालाई कायम राख्नको निम्ति भइरहेको प्रयासहरुका बारेमा हामीले छलफल गरेका छौँ । र यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई, पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्नेगरी र पार्टीमा योगदान गर्नेगरी आउन चाहाने साथीहरुलाई विगतका गल्तीहरु बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ । एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ ।’

सोमबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित निर्देशन दिनुभएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्नपनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ ।