सिन्धुपाल्चोक । शनिबार रातिदेखि परेको पानीले मेलम्चीमा बाढी आएको छ । बाढीले चनौटेको रातो पुल बगाएको छ । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ ।

नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो ।












