८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको सरकारलाई आग्रहः मेलम्चीका बाढी पीडितलाई तत्काल राहत देउ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटगरी राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट बिस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका हुन् । 

बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपाले बाढीबाट ज्यान गुमाएका र वेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ । 

अध्यक्ष राणाले भने, ‘पुल, बाटोघाटोलगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनुपर्यो। बिस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनपर्योे । क्षति भएका मानिसहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्यो । त्यो मेलम्चीका जनताको चितकारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।’

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गरे ।   




न्यूजपोलारबाट थप समाचार