७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

यस्तो छ बागलुङ–२ को चुनावी गणित

यस्तो छ बागलुङ–२ को चुनावी गणित
अ+ अ-

बागलुङ । बागलुङ जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ ।

चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ ।

बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम शक्ति अलग्गिएका छन् । कांग्रेसलगायतका दललाई गठबन्धनको आड छ ।

विसं २०७४ को चुनावमा बेहोरेको नमिठो हारलाई गत वैशाखको स्थानीय चुनावबाट पूर्ति गरेको कांग्रेस गठबन्धनका बलमा अहिले पनि जित निकाल्न चाहन्छ । यसअघिको सङ्घ र प्रदेश चुनावमा एक्लै वाम गठबन्धनको सामना गरेको कांग्रेसले यहाँका सबै ‘सिट’ गुमाएको थियो । यसपालिको चुनावमा सङ्घ गठबन्धनका अरु दललाई छाडेर कांग्रेस प्रदेशका चारै ‘सिट’ मा प्रतिस्पर्धा गर्दैछ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दा विसं २०७४ मा कांग्रेस किनारामा परेको थियो । अहिले कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन् । विसं २०७४ मा कांग्रेसझैँ अहिले नेकपा (एमाले) एक्लै चुनावी मैदानमा छ । छ वटा स्थानीय तह भएको बागलुङ–२ मा गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनले एउटा पालिका प्रमुखबाहेक सबैमा जित हासिल गरेको थियो । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहलाई साथ लिएर चुनाव लड्नुभएका एमालेका देवकुमार नेपाली ढोरपाटन नगरपालिकाको प्रमुखमा विजयी बन्नुभएको थियो ।

त्यस क्षेत्रका कूल ४८ वडामध्ये ढोरपाटनका पाँच, बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाको एउटा वडामा मात्र एमालेले वडाध्यक्ष जितेको थियो । त्यसबाहेक ढोरपाटन–४ मा जनमोर्चाको विद्रोही समूहका तिलक पुन र अरु सबै वडामा कांग्रेस, माओवादी र जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए ।

निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकामा एमालेले एउटै वडा पनि जित्न सकेको थिएन । वडाध्यक्षका उम्मेदवारको कूल मतभार जोड्दा सत्ता गठबन्धनका उम्मेदवारले एमालेकाले भन्दा १५ हजार पाँच सय १९ मत बढी ल्याएका थिए । सत्ता गठबन्धन दलले वडाध्यक्षमा ३४ हजार पाँच सय ६८ मत पाउँदा एमालेले जम्मा १९ हजार ४९ मत पाएको थियो ।

गत स्थानीय तह चुनावको मत परिणाम हेर्दा बागलुङ–२ मा सत्ता गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिन्छ । एमाले पनि गठबन्धनलाई पछि पारेर चुनाव जित्ने दाउमा छ । गठबन्धनका साझा उम्मेवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका विरुद्ध एमालेका मञ्जु शर्मा चालिसे चुनावी मैदानमा हुनुहुन्छ ।

गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्ररूपमा गलकोट नगरपालिकाको प्रमुखमा चुनाव लड्नुभएकी चालिसेपछि एमाले प्रवेश गर्नुभएको थियो । स्थानीय तह चुनावमा उहाँले तीन हजार दुई सय ६३ मत ल्याउनुभएको थियो । कांग्रेस त्यागेर आउनासाथ एमालेबाट उम्मेदवार बन्नुभएकी उहाँ अन्य दलभित्रका असन्तुष्ट मत बटुलेर जित्ने आशमा हुनुहुन्छ ।

गठबन्धन दल भने आफ्नो भएको जनमत जोगाउन सके चुनाव जितिने ठान्छन् । माओवादी केन्द्रका सचिवसमेत रहनुभएका शिक्षामन्त्री पौडेलका लागि पनि पुनः सोही क्षेत्रका मतदाताबाट अनुमोदन हुनुपर्ने चुनौती छ । विसं २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट उहाँ विजयी हुनुभएको थियो ।

पौडेलले २८ हजार आठ सय २७ मत ल्याउँदा उहाँसँग पराजित कांग्रेसका नीरज पुनले १९ हजार नौ सय पाँच मत पाउनुभएको थियो । उक्त चुनावमा एमाले बागलुङ–१ र १ को (१), माओवादी केन्द्र बागलुङ–२ र २ को (२), राष्ट्रिय जनमोर्चा १ को (२) र २ को (१) मा विजयी बनेको थियो । कूल ९५ हजार पाँच सय ६१ मतदाता रहेको बागलुङ–२ (१) र (२) मा अहिले भने सत्ता गठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी छन् ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा समेटिएको प्रदेश (१)मा गठबन्धनबाट कांग्रेसका जीत शेरचन चुनावी मैदानमा हुनुहुन्छ । एमालेले आफ्नै उम्मेदवार नउठाए पनि स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सघाउने भएको छ । घर्ती पनि गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्ररूपमा लड्नुभएको थियो ।

माओवादी केन्द्रले टिकट नदिएपछि बिच्किनुभएका घर्ती अहिले एमालेको समर्थन लिएर चुनावमा होमिनुभएको छ । विसं २०७४ को स्थानीय तह चुनावमा उहाँ माओवादी केन्द्रबाटै ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । घर्तीका प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति शेरचन यसअघि दुई पटकसम्म प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो ।

विसं २०७४ र विसं २०७६ मा भएको उपचुनावमा बागलुङ–२ (२) बाट उम्मेदवार बनेर हार्नुभएका शेरचनले यो चुनावमा (१) क्षेत्रलाई रोज्नुभएको हो । कांग्रेस र माओवादीको जनमत बढी रहेको यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता छन् । विसं २०७४ को चुनावमा यस क्षेत्रबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो ।

वाम गठबन्धनबाट चुनाव लड्नुभएका बुढाले १७ हजार चार सय १५ मत ल्याई कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित गर्नुभएको थियो । मल्लले जम्मा ११ हजार पाँच सय ४६ मत ल्याउनुभएको थियो । त्यतिबेला वाम दल एकठाउँ भएर कांग्रेस विरुद्ध चुनावमा होमिएका थिए । बागलुङ–२ (२) मा गठबन्धनबाट कांग्रेसका द्रोर्ण कुँवर चुनावी प्रतिस्पर्धामा हुनहुन्छ । त्यस क्षेत्रमा एमालेबाट लक्ष्मण पुन उम्मेदवार हुनुहुन्छ ।

ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका समेटेको सो क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता छन् । यसअघिको प्रदेशसभा उपचुनावमा सो क्षेत्रमा जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार दुई सय ३५ मत ल्याएर चुनाव जित्नुभएको थियो । कांग्रेसका शेरचनले नौ हजार एक सय ३८ मत ल्याउनुभएको थियो । अहिले भने कांग्रेसका उम्मेदवारलाई केही सहज हुने देखिन्छ ।

त्यहाँका २२ वडामध्ये गत स्थानीय चुनावमा एमालेले पाँच मात्रै जितेको थियो । सत्ता गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको मतभार एमालेका उम्मेदवारको भन्दा बढी छ । विगतको समीकरण र मतभार जेजस्तो भए पनि आउँदो चुनावको परिणामबारे कोही पनि ढुक्क हुने स्थिति छैन । जितको दाबीसहित दल र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् ।

मन्त्रीदेखि र पार्टीका शीर्ष नेतासम्म चुनावी मैदानमा भएकाले यहाँको चुनावलाई पनि चासोपूर्वक हेरिएको छ । बागलुङ–१ मा सत्ता गठबन्धनका तर्फबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बागलुङ–१ (१) मा गठबन्धनबाट कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर केसी र (२) मा कांग्रेसका डिल्लीराम सुुवेदी र एमालेका नवराज पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।

रामबहादुर थापा/  रासस