६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि भरिन थाले अस्पतालका शय्या



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रवीण नेपाल सो अस्पतालमा बेडभन्दा बढी बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आएको बताए । सो अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ९० बेड छुट्याइएको छ । उनले नयाँ बिरामी आएको अवस्थामा फर्कोउनुपर्ने अवस्था आएको जनाए । कोरोना संक्रमणको दोस्रो लहरका बेला सो अस्पतालले २ सय ८० भन्दा बढी बेड खडा गरेर उपचार गरेको थियो ।

‘संक्रमित भएर आउनेको संख्या बढ्दै गएको छ, जता सकिन्छ त्यतै बिरामी राखेर उपचार गरिरहेका छौं,’ डा. नेपालले भने, ‘अहिले नै यस्तो स्थिति छ । तेस्रो लहर आएमा थप कठिन हुने हामीहरूको विश्लेषण छ ।’

त्यसो त स्वास्थ्य मन्त्रालयले आगामी १५ असोजदेखि तेस्रो लहर आउन सक्ने आँकलन गरिसकेको छ । कोरोनाविरुद्धको प्रतिकार्यका लागि साउनदेखि जारी गरेको पाँचमहिने द्रुत कार्ययोजनामा सो कार्य उल्लेख छ । कार्ययोजनामा अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुन सक्ने मन्त्रालयको प्रक्षेपण छ । त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने र जसमध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आँकलन मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारी भने अहिले नै स्थिति भयावह भइनसकेको बताउँछन् । संक्रमण बढ्दै गएको अवस्थामा अहिलेको पूर्वाधारले थेग्न नसक्ने उनको भनाइ छ ।

‘अहिलेको स्थिति हेर्ने हो भने भयावह मान्न मिल्दैन, यसको मतलव जोखिम छैन भन्ने होइन, संक्रमितहरू बढिरहेका छन्, अस्पताल भरिभराउ छन्,’ डा. अधिकारीले भने, ‘यही क्रममा संक्रमण बढ्दै गयो भने स्वास्थ्यको पूर्वाधारले धान्न सक्दैन ।’

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक भिडियो जारी गर्दै कोरोना महामारीले पुनः भयावह रूप लिन लागेको संकेत गरेका छन् । तेस्रो लहरका लक्षण देखिन थालेको भन्दै उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरिसकेका छन् ।

‘कोरोना महामारीको तेस्रो लहरका लक्षण देखिन थालेका छन्, म यहाँहरूसँग आग्रह गर्दछु कि अत्यन्त आवश्यक परेको बेला मात्रै बाहिर निस्कौं,’ प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका छन् ।

‘बाहिर निस्कनुअघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं र बेलाबेलामा साबुन पानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड सबै पालना गरौं, सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्रै यो महामारीलाई तह लगाउन सकिन्छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थालाई भीडभाड हुनेगरी कार्यक्रम आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर मात्रै पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।