२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा निर्वाचन तयारी



अ+ अ-

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदान रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार छ सय १५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभामा मतदान गर्ने ‘क’ मा ६४ हजार चार सय ८२ र ‘ख’ मा ५९ हजार एक सय ३३ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार सात सय २९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभाका लागि ‘क’ मा ६१ हजार ५८ र ‘ख’मा ६३ हजार ६ सय ७१ मतदाता छन् । निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार आठसय ३३ मतदाता छन् भने प्रदेशसभा तर्फ ‘क’ मा ७५ हजार तीन सय ९३ र ‘ख’मा ७४ हजार चार सय ४० छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेशसभा तर्फ ‘क’मा ५७ हजार तीन सय ९० र ‘ख’ मा ५२ हजार सात सय तीन, निर्वाचन क्षेत्र नं ५मा एक लाख ४९४ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ४७ हजार ४५५ र ‘ख’मा ५३ हजार ३९ छन् । त्यस्तै निर्वाचन क्षेत्र ६ मा एक लाख २६ हजार ७६१ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ७८ हजार ९६४ र ‘ख’मा ४७ हजार ७९७ मतदाता रहेको कार्यालयले जनाएको छ ।

कूल तीन सय ६ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेको मोरङमा ५० वटा अति संवेदनशील र एक हजार एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहने भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरी सुरक्षाको तीन घेरा रहने बताउनुभयो । एक मतदान केन्द्रमा आठ देखि १२ जना राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ वातावरण एवं मर्यादित रुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको भूमिका महत्वपूर्ण छ भन्नुभयो । उहाँले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सर्वसाधारणले पनि विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले राजनीतिक दलको सहमतिमा तयार पारिएको निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताउनुभयो । मोरङमा प्रतिनिधिसभा तर्फ ६ स्थानका लागि एक सय पाँच र प्रदेश सभातर्फ १२ स्थानका लागि एक सय १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी, मतदानस्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाइमा विशेष ध्यान दिन निर्वाचन अधिकृत तथा पालिकाका प्रशासकीय अधिकृतलाई प्रजिअ दाहालले निर्देशन पनि दिनुभएको छ ।