१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासुको डल्लो पलाएर अनुहार छोपियो, उपचार पाइएन



अ+ अ-

झापा । निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ । गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहनुभएका विष्णुमायाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिन लाग्दा उहाँलाई हेर्नसमेत समस्या भइरहेको छ । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले मगर परिवार चिन्तित छन् । 

“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो,” उहाँले रासससँग भन्नुभयो । मासुको डल्लो बढेर नाक र मुख छोपिइसकेको र आँखा हेर्नसमेत समस्या हुँदै गएको उहाँले बताउनुभयो । 

आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आउनु भएका उहाँ आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकिएको र पीडा सहेर बस्नु परेको दुःखेसो पोख्नुभयो । उहाँको अनुहारमा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन सकेको छैन । काकाकाकीको आर्थिक अवस्था समेत कमजोर छ । बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै जाँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ । 

काम गर्न नसक्ने अवस्था भएकाले जीविकाका लागि सहयोग माग्न उहाँ मङ्गलबार मेचीनगर नगरपालिकाकाप्रमुख बिमल आचार्यलाई भेट्न कार्यालय पुग्नुभएको थियो । आचार्यले नगरपालिकाले केही सहयोग गर्ने आश्वासन दिनुभयो । नगरका प्रमुखलाई भेटाउन सहयोग पु¥याउनु भएकी स्थानीय सामाजिक कार्यकर्ता निर्मला भण्डारीले शारीरिक अशक्त भएको हुँदा विष्णुमायालाई अपाङ्गता परिचयपत्र बनाउन सकेमा सामाजिक भत्ता पाएर जीविका चलाउन सहज हुने बताउनुभयो ।

अपाङ्गता प्रमाणपत्रका लागि पहल गरिदिन उहाँले नगरपालिकाका प्रमुख आचार्यलाई अनुरोध गर्नुभयो । उपचारका लागि निःशुल्क व्यवस्था हुनसके नयाँ जीवन पाउने उहाँले बताउनुभयो । रासस