१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाइलाई मिर्गौला दिएर बचाउने दाइ



अ+ अ-

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरको शय्याबाट ६२ वर्षीय डमप्रसाद घर्तीले टेलिफोनमा भन्नुभयो, “भाइको जीवन बाँच्यो, म यसै धन्य छु ।” उहाँले अघि थप्नुभयो, “भर्खर डाक्टरले भेटेर भाइ र तपाईंको स्वास्थ्य अवस्था राम्रो छ भन्नुभयो, धेरै खुशी लागेको छ ।”

जिल्लाको ताराखोला गाउँपालिका–४ का डमप्रसाद र उहाँको परिवारमा अहिले हराएको खुशी एकाएक फर्किएझैँ भएको छ । भाइ दुवै मिर्गौलाले काम नगरेर थलिएपछि नदुख्ने मन कुन दाइसँग पो हुन्छ र ? डमप्रसादलाई पनि त्यस्तै भइरहेको थियो । वर्ष दिनसम्मको उपचारले बीसको उन्नाइस नभएपछि उहाँका भाइ ५५ वर्षीय ओमबहादुरको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । आर्थिक अभियानका माध्यमबाट खर्चको जोहो पनि भयो । कसले मिर्गौला दान गर्ने विषयमा परिवारले सरसल्लाह गरे ।

अन्ततः दाइ डमप्रसाद नै अघि सर्नुभयो, भाइको जीवन रक्षाका लागि । उहाँ आफ्नो मिर्गौला भाइलाई दान दिन तयार हुनुभयो । “भाइलाई र हामी सबै परिवारलाई राम्रो होस् भनेर मैले मिर्गौला दिएँ, यो त मेरो धर्म पनि हो”, डमप्रसादले भन्नुभयो । उहाँले मिर्गौला प्रत्यारोपणपछि चिकित्सकीय निगरानीमा रहनुभएका भाइ ओमबहादुरलाई छिट्टै पूर्णरूपमा निको होस् भनेर कामनासमेत गर्नुभयो । डमप्रसादलाई शल्यक्रियाकक्षबाट सामान्य शय्यामा सारिएको छ । उहाँका भाइ ओमबहादुरको भने सघनकक्षमै विशेष निगरानीसहित उपचार चलिरहेको छ । 

डमप्रसादले आफूलाई आराम हुँदै गएको र स्वास्थ्यमा राम्रो सुधारको महसुस भएको बताउनुभयो । ओमबहादुरका छोरा जीवनका अनुसार मङ्गलबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । चिकित्सक प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरेको उहाँले उल्लेख गर्नुभयो । जीवनले बुबाको स्वास्थ्य अवस्थामा पनि उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो । “अझै एक साता अस्पतालमै राखेर बुबाको उपचार हुन्छ, डाक्टरले त्यसपछिको अवस्था हेरेर निर्णय गर्ने भन्नुभएको छ ।”

मिर्गौला प्रत्यारोपणका लागि नौ दिनअघि ओमबहादुरलाई केन्द्रमा भर्ना गरिएको थियो । उहाँमा गत वर्ष भदौमा पहिलोपटक मिर्गौलाको समस्या देखिएपछि नियमित डायलासिस हुँदै आएको थियो । “बुबाको दुवै मिर्गौला फेल भएपछि पोखराको गण्डकी अस्पतालमा लामो समय डायलासिस गर्र्यौं”, छोरा जीवनले भन्नुभयो, “अहिले सबैको साथ, सहयोगबाट मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।” 
वडा सदस्यसमेत रहनुभएका ओमबहादुरको उपचारमा अर्थाभाव भएपछि स्थानीय नवसिर्जना युवा क्लब र लोकसम्पदा अध्ययन अनुसन्धान अभियानमार्फत रु १७ लाखभन्दा बढी सहयोग जुटेको थियो । क्लबले मात्र रु १५ लाख बढी सहयोग उठाएको अध्यक्ष पूर्णभद्र न्यूरेले बताउनुभयो ।

देश विदेशबाट स्वतःस्फूर्तरूपमा आर्थिक सहयोग प्राप्त भएको उहाँको भनाइ छ । हालसम्म रु नौ लाख जति उपचारमा खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपण र थप उपचारमा लाग्ने खर्च बेग्लै छ । नेपालमा कुनै पनि व्यक्तिमा मिर्गौला प्रत्यारोपण गर्न परेमा उसका आफन्तले मात्र मिर्गौला दान गर्न पाउने कानूनी व्यवस्था छ ।