२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार



अ+ अ-

सुदूरपश्चिम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्ला मध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुरामा विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुदै आउनुभएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रसम्म रहेका छन् । त्यसैगरी दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको ठूलो जिल्ला कैलालीमा पाँच प्रतिनिधिसभा सदस्यको सिटमा ४८ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीमा राष्ट्रिय राजनीतिमै परिचित अनुहार उम्मेदवारका रुपमा रहेका छन् । यहाँ पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखकराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायरदेखि पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानासम्म उम्मेदवार रहनुभएको छ ।

कैलालीका १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्रसम्म गरेर ९६ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । कैलालीमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

त्यसैगरी तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभाका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं। १ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी नेत्री एवं पूर्वमन्त्री विना मगर प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी ‘हेविवेट’ तर्फ क्षेत्र नं। २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउँद र निर्वाचन क्षेत्र नं। ३ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक उम्मेदवार रहनुभएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं. १ मा सुदूरपश्चिम पूर्वमन्त्री तारा लामा, निर्वाचन क्षेत्र नं। २ मा एमाले नेता नरबहादुर धामी र निर्वाचन क्षेत्र नं। ३ मा नेत्री निरुदेवी पाल चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी छ वटा प्रदेशसभा सदस्यको सिट रहेको कञ्चनपुरमा ५५ जनाले उम्मेदवारी दिएका छन् । जसमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल, संविधानसभा सदस्य दिवान विष्ट उम्मेदवार रहनुभएको छ । सुुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा एउटा प्रतिनिधिसभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

दार्चुलामा सत्ता गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार बन्नुभएको छ । नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना उम्मेदवार छन् । यसअघिका प्रत्यक्ष निर्वाचनमा ठगुन्नाले मन्त्री बडूलाई पराजित गर्नुभएको थियो ।

दुई प्रदेशसभा सदस्य रहेको दार्चुलामा प्रदेशका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । दुई प्रतिनिधिसभा सदस्यको सिट रहेको अछाममा श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी दिनुभएको छ ।

अछाममा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ चार सिटका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले उम्मेदवारी दिनुभएको छ ।

यस्तै बैतडीमा १२ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । एक मात्र प्रतिनिधिसभा सदस्य सिट रहेको बैतडीमा गठबन्धनका उम्मेदवार नरेन्द्र बहादुर कुँवर र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यहाँ पनि प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् । दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभातर्फ ११ जनाले उम्मेदवारी दिएका छन् ।

पुरानो सदरमुकाम रहेको डोटी जिल्लामा प्रतिनिधिसभा सदस्यमा छ जनाले उम्मेदवारी दिएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आले यहाँ सत्ता गठबन्धनका उम्मेदवारी दिनुभएको छ । यस्तै नेकपा एमालेबाट नेत्री गौरी ओली उम्मेदवारी दिनुभएको छ ।

डोटीमा दुई प्रदेशसभा सिटका लागि सात उम्मेदवार छन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि प्रतिनिधिसभाको एक मात्रै सिट रहेको छ । बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । दुई वटा प्रदेशसभा सिटमा यहाँ नौ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिनुभयो ।

बाजुरामा राजनीतिक दलदेखि स्वतन्त्रले उम्मेदवारी दिएपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बझाङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १० प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

बझाङमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेबाट युवा नेता ऐन महरलगायत उम्मेदवार रहनुभएको छ । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ रहेका छन् । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ४० हजार दुई सय एक मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा ८९ हजार क सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार छ सय ५७ र बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २७ लाख ११ हजार दुई सय ५० रहेको छ ।