२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्ने



अ+ अ-

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले ल्याउन खोजेको दल विभाजनसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने भएको छ । नेकपा(एमाले)को मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित र संकटतिर धकेल्ने भन्दै एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी विभाजित गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई बैठकले आह्वान गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘संघीय संसदको चालु अधिवेशन हिजो साउन ३२ गते मध्यरातिदेखि हठात अन्त्य गरिएको छ ।

एक दर्जन भन्दा बढी अध्यादेशहरु बारेमा निर्णय गर्नुपर्ने, संसदमा विचाराधिन कयौँ विधेयकहरुको टुंगो लगाउनुपर्ने र जनसरोकारका अनेकौँ विषयहरु बारे बहस गर्नुपर्ने संसदलाई एक महिनासम्म विजनेशविहिन बनाउँदै अन्त्य गरेर सरकारले आफू र गठबन्धनमा आवद्ध पार्टीहरुबाट संसदका बारेमा यस अगाडी भनिएका विषय केवल भ्रम र आडम्बर मात्रै थियो भन्ने पुष्टि भएको छ । यसले गठबन्धनले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्ति र साझा न्यूनतम कार्यक्रममा लिखित रुपमा व्यक्त गरेको प्रतिवद्धताको समेत धज्जी उडाएको छ ।

यसमाथि संसद अधिवेशनलाई आकस्मिक रुपले अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दल भित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने, र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्राउने जुन तयारी गरिदैैँछ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ । हाम्रो पार्टी गठबन्धन सरकारका यस्ता असंसदीय, अलोकतान्त्रिक र विभाजनकारी योजना प्रति गम्भिर विरोध प्रकट गर्दछ । लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने यस क्रियाकलाप प्रति खबरदारी गर्दै शसक्त प्रतिवाद गर्ने संकल्प गर्दछ ।

यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वंय नै जिम्मेवार हुनुपर्नेछ । पार्टीका सबै नेता कार्यकर्ताहरुलाई पार्टीलाई विभाजित गर्ने हरेक षडयन्त्रकाविरुद्ध दृढतापूर्वक उभिन र पार्टी एकताको पक्षमा सक्रिय योगदान गर्न बैठक आह्वान गर्दछ ।’

बैठकले अफगानिस्तान घटनाप्रति नेपाल सरकार किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको निष्कर्ष निकाल्दै अफगानिस्तानमा रहेका नेपालीहरुलाई शिघ्र र सुरक्षित रुपले स्वदेश फिर्ता गराउन माग पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सार्कको अध्यक्ष हुनुका नाताले संगठनका सदस्य राष्ट्र अफगानिस्तानको बारेमा अन्य सदस्यहरुसँग छलफल र समन्वय गर्ने, सम्बद्ध सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्ने, र त्यहाँ रहेका नेपालीहरुको सुरक्षित स्वदेश फिर्तीका लागि प्रभावकारी र तीव्र तयारीमा लाग्नुको सट्टा वर्तमान सरकार यस घटनाप्रति किंकर्तव्यविमुढ, उदासिन र गैरजिम्मेवार देखिएको छ । नेकपा एमाले सरकारको यस्तो निष्प्रभावि र गैरजिम्मेवार तरिकाप्रति खेद प्रकट गर्दै अफगानिस्तानमा रहेका सबै नेपालीहरुको शिघ्र र सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न माग गर्दछ ।’