१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राष्ट्रपतिको अपमान गरेको छः अध्यक्ष ओली



अ+ अ-

धनुषा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफलै नगरी विधेयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले राष्ट्रपतिको अपमान गरेको बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी धनुषाले जिल्लाको निर्वाचन क्षेत्र नं.२ को तीनकौरिया चोकमा शनिबार आयोजना गरेको वृहत पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सरकारले बहुमतको दम्भमा विधेयकमा अनावश्यक कुरा राखेर प्रतिपक्षीसँग कुनै छलफलै नगरी नागरिकता विधेयकलाई दोस्रो पटक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाएको बताउनुभयो ।

जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने पक्षमा एमाले सदैव तत्पर रहेको भन्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री रहेको समयमा नागरिकता समस्या समाधान गर्न खोज्दा अहिले गठबन्धनमा रहेकैहरूले संसदको समितिमा अगाडि बढ्न नदिएका र पछि अध्यादेशमार्फत जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन थालिएकामा मुद्दा हालेर रोकेको बताउनुभयो ।

उहाँले मंसिर ४ गतेको निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने र एक महिनाभित्रमा नागरिकता समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेले नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ भन्छ तर गठबन्धनभित्रका दलहरूले गैर नेपालीलाई पनि नागरिकता दिन चाहन्छन्, यसै विषयमा समस्या उत्पन्न भएको हो ।’

उहाँले एमाले नेतृत्वको सरकारले विगतमा देश र जनताका लागि गरेका कामले एमालेप्रति जनताको आकर्षण रहेको र प्रवेशको लहर चलेको बताउनुभयो ।

अध्यक्ष ओलीले अरू पार्टी छाडेर एमाले प्रवेश गर्नेको सङ्ख्या लाख नाघेको भन्दै एमालेमा प्रवेशको क्रम चलिरहने बताउनुभयो ।

देश विकास र जनताको हित नै एमालेको एकमात्र स्वार्थ रहेको र देश विकाससँगै तराई–मधेशको विकास एमालेले मात्रै गर्न सक्छ भन्दै अध्यक्ष ओलीले पहिलो पटक मतदान गर्ने युवालाई देश विकासको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान सचेतक एवं नेता उमाशंकर अरगरियासहित विभिन्न पार्टी परित्याग गरी चार हजारको सङ्ख्यामा नेताकार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए ।

अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई माला र गम्छा लगाएर स्वागत गर्नुभयो । अध्यक्ष ओलीलाई स्थानीय नेताकार्यकर्ताले २०५ किलोको फूलको माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा एमालेका सचिव एवम मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पोलिटव्यूरो सदस्य जुली महतो र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।