६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा



अ+ अ-

काठमाडौं । बाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार मसान्तभित्र त्यस्ता क्षेत्रमा न्यूनतम ११ प्रतिशतको अनुपातमा रू। १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्न निर्देशन दिएको थियो । तर, त्यस्ता क्षेत्रमा १० दशमलव १ प्रतिशतको अनुपातमा मात्र कर्जा प्रवाह भएको छ । यो भनेको साना तथा मझौला उद्याममा शून्य दशमलव ९ प्रतिशत विन्दुले कर्जा प्रवाह अपुग हो ।

रकमको आधारमा उक्त क्षेत्रमा रू। ३ खर्ब २७ अर्ब ८० करोड प्रवाह भएको छ । गत आवको असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले करीब ३७ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असारसम्म १२ प्रतिशत, २०८० असारसम्म १४ प्रतिशत र २०८१ असारसम्म १५ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा प्रतिऋणी रू। १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । वाणिज्य बैंकको हकमा गरिएको यो व्यवस्थालाई चालू आवको मौद्रिक नीतिमा पनि निरन्तरता दिइएको छ । तर, कार्यान्वयनको पहिलो वर्षमा तोकिएको दरमा कर्जा प्रवाह हुन सकेको देखिँदैन ।

राष्ट्र बैंकले यस विषयलाई लिएर बैंकहरूलाई कुनै कारबाही भने नगर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले यसपटकलाई यस विषयमा बैंकहरूलाई छूट दिइएको बताए । अब चालू आवको मसान्तसम्म एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

चालू आवको मसान्तभित्र वाणिज्य बैंकहरूले १२ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । ‘कोरोना महामारीका कारण पहिलो वर्ष त्यस्ता क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह हुन सकेन । त्यसैले यसपटकलाई यस विषयमा छूट दिइएको छ,’ उनले भने, ‘तर, चालू आवमा भने बैंकहरूले एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्नेछ ।’

बैंकहरूले भने लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा त्यस अनुपातमा कर्जा प्रवाह हुनुलाई उपलब्धिका रूपमा लिएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले त्यस्ता क्षेत्रमा १० दशमलव १ प्रतिशतको अनुपातमा कर्जा प्रवाह हुनु उपलब्धिमूलक भएको बताए । ‘राष्ट्र बैंकले दिएको लक्ष्य नै बढी थियो । त्यसैले तोकिएको मात्रामा कर्जा प्रवाह हुन असम्भव थियो,’ उनले भने, ‘हामीले त यतिका मात्रामा कर्जा प्रवाह हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं । गत असोजसम्म त्यस्ता क्षेत्रमा ६ प्रतिशतको अनुपातममा मात्र कर्जा प्रवाह भएको थियो । असारसम्म आउँदा त्यो ५ प्रतिशत विन्दुले बढेर ११ प्रतिशत पुग्नु सामान्य होइन ।’

यस्तो कर्जामा दिइने लक्ष्य वार्षिक रूपमा बढीमा १ प्रतिशत विन्दु मात्र हुनुपर्ने उनको भनाइ छ । तर, गत आवमा एकैचोटि बढी लक्ष्य दिँदा कार्यान्वयनमा समस्या भएको उनले बताएको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।