२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका चितवन जिल्ला सहइन्चार्ज परियार एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका पार्टी सहइन्चार्ज यमबहादुर परियार (इन्द्रजीत) नेकपा (एमाले) प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका परियार पार्टीभित्र प्रभावशाली नेताका रुपमा मानिन्छन् । एमाले र माओवादी एकतापछि बनेको नकेपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार यसअघि पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता हुन् ।

उनीसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत अन्य माओवादी नेताहरु बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

परियारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गर्दै आएको हुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा उनीहरुको एमाले प्रवेशले माओवादी पार्टी तथा अध्यक्ष प्रचण्डलाई निकै धक्का लाग्ने अनुमान गरिएको छ ।