३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा
अ+ अ-

अत्तरिया । पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् ।

अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आए पनि भारतीय पर्यटक भने महिनामा करिब तीन सय/चार सयको हाराहारीमा आउने गरेको अध्यागमन कार्यालयले जनाएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पनि तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढ्न सकेको छैन । तिनीहरूमध्ये अधिकांश पर्यटक भने सुदूरपश्चिमका पर्यटकीयस्थल छोडेर पूर्वका पोखरा, लुम्बिनी र काठमाडौँ जाने गरेका छन् ।

पर्यटकीयस्थलको प्रचार प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्न नसकेको यहाँका विज्ञहरु बताउँछन् । प्रदेशमा बाह्य पर्यटकहरु टिकाउन प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने, प्रदेशका पर्यटकीयस्थलको प्रचार प्रसारका लागि पर्चा, पम्प्लेट र विभिन्न होडिङ बोर्डहरू लगाउनुपर्ने उनीहरुको सुझाव छ । बाटोको असुविधा, बसोबासको उचित व्यवस्था नहुँदा र यहाँका पर्यटकीयस्थलको पहिचान नहुँदा कहाँ घुम्ने भन्ने अन्योल हुने गरेको पर्यटकहरू बताउँछन् ।

के सुदूरपश्चिममा पर्यटकीय क्षेत्र नभएकै हुन् त ?

सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँ नभएका होइनन् । पहिचान नभएको मात्रै हो । यद्यपि, प्रदेशका पर्यटकीयस्थललाई लक्षित गरेर कार्यक्रम नहुँदा यहाँका पर्यटकीयस्थल जति सबै ओझेलमा परेको स्थानीय बासिन्दा बताउँछन् । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले भने आफूहरू प्रदेशको विकासका लागि गम्भीर रहेको बताउँदै योजना बनाएर प्रदेशका पर्यटकीयस्थलको प्रवद्र्धनमा लाग्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

सुदूरपश्चिममा यस्ता धेरै ठाउँहरू छन्, जुन ठाउँले पर्यटकहरूको मन लोभ्याउँछ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिमशृङ्खलालगायत अरु धेरैै ठाउँहरू छन् । नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिम प्रदेशलाई अरु प्रदेशसँग तराईका अन्य जिल्लासँग जोड्ने काम मात्र गरेको छैन, धेरैको मन लोभ्याएको छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । कैलालीको लम्कीदेखि करिब १७ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका–७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ । हावापानीका दृष्टिकोणले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गइरहेको छ ।

पर्यटकका लागि अर्को आकर्षणको थलो बनेको छ टीकापुर पार्क । करिब पाँच बिघा जमिनमा फैलिएको यस पार्कमा ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेषगरी पिकनिक खान आउने पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालमा रमाउन जाने पर्यटकको सङ्ख्या पनि कमी छैन । हत्केला आकारको यो तालका १९ वटा उपताल छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ ।

कैलालीको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो । विसं १९८२ सालमा निर्माण गरिएको उक्त दरबार हाल जीर्ण अवस्थामा छ । कैलालीमा रहेका सानाठूला गरी १९३ ताल तलैया पनि यहाँका प्रमुख आकर्षण हुन् । कोइलाही कोइलहुवा ताल, जोगनिया ताल, महादेवा ताल, जाखौर ताल, बेला ताल पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बनेका छन् ।

धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादा होमस्टेले पनि आन्तरिक पर्यटकलाई आकर्षण गरेको छ । गाउँ तथा थारू समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारले पर्यटकको मन लोभ्याउने गर्छ । कैलाली जिल्लामा रहेको गोदावरीमा रहेको नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो पनि उत्तिकै लाग्छ । गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिकरूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटक आउने गर्छन् ।

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू देख्न सकिन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा रहेको शिवलिङ्गको स्वरुप जस्तै पहाडका डाँडा लिंगामा पनि धार्मिक पर्यटकको गन्तव्य बनेको छ । लिंगाबाट करिब छ किलोमिटर उत्तरतर्फ गयौं भने डडेल्धुरा र कञ्चनपुरको सीमा छुट्याउने चुरे पहाडको तल बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।

कञ्चनपुर जिल्लामा रहेको दोधारा–चाँदनी पुल पनि नेपालकै लामो झोलुङ्गे पुल हो । यसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक दोधारा–चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुइँचो लाग्छ ।

डडेल्धुराका प्रसिद्ध मन्दिरमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् पर्शुरामको मन्दिर हुन् । उग्रतारालाई सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ भने घटाल स्थानमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकाङ्क्षा पूरा हुने विश्वास छ । यहाँ असोज कात्तिक, दसैँ र वैशाख बिसुका बेला ठूलो मेला लाग्ने गर्छ ।

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो अमरगढी किल्ला । यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट अग्लो छ । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्नका लागि पनि पर्यटकहरूको घुइँचो लाग्छ । डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । आलीताल गाउँपालिकामा पर्ने आली ताल र पर्शुराम नगरपालिकामा पर्ने पर्शुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँहरू हुन् ।

डोटी जिल्लामा पनि घुम्न लायक ठाउँहरूमध्ये थुप्रै छन् । शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफालाई अखङ्गाल गुफा पनि भनिन्छ । सेती नदीमा हुने जलयात्राले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ । सलगढीमा अवस्थित शैलेश्वरी माताको मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिकस्थलका रूपमा रहेको छ । सदरमुकामबाट एक सय ५० किमी दक्षिणतर्फ रहेको बड्डी केदार धाम धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको छ ।

बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्णमन्दिर, शिवनाथ मन्दिर पनि पर्यटकीय आकर्षणका स्थल हुन् । जिल्लाको तल्लो स्वराडअन्तर्गत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर धेरै पर्यटकको रोजाइ बनेको छ । यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । देहीमाडौँमा अवस्थित निङ्गलासैनी मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन् । पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीयस्थल पनि बैतडीमै पर्छन् ।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकको मन प्रफुल्ल हुन्छ । समुद्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा दुई सय २५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान हो ।

बाह्र बण्ड, अठार खण्डका नामले चिनिने अछाम जिल्लाको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय ठाउँ हो । यहाँ १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ भने गुफा र झरना छन् । अछामको बूढीगङ्गा नदीको दायाँ तटमा वैद्यनाथ मन्दिर अवस्थित छ । स्खण्ड पुराणअनुसार देवी पार्वतीको विवाह भगवान शिवसँग भएको यो प्रख्यात ठाउँ हो । वैद्यनाथ धाम चार मुख्य धार्मिकस्थल (कैलाश, मनसरोवर, खोचरनाथ, वैद्यनाथ) मध्ये एक हो ।

बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिकस्थल हो । भूस्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्य बडिमालिकाका गहना हुन् । बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्नलायक ठाउँ हुन् । दार्चुलाको अपि हिमाल ९७,१३२ मिटर० आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । अपि र नम्पा हिमालसँगै रिङ्देपानी, कायाकोर, कालीढुङ्गा र बबईलगायतका हिउँचुली लहरै रहेका छन् । त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन् भने डाँफे, मुनाललगायतका चरा पनि देख्न सकिन्छ ।

प्राचीन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्र हो बाजुराको तपोवन । राष्ट्रकै सातौं धामको मान्यता पाएको मालिकार्जुन शिव भगवानको बासस्थान हो भने शैल्यशिखर व्रतालुहरूका लागि तपोभूमिका रूपमा वर्णित छ । दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वरको धार्मिक तथा पर्यटकीय महत्व छ । नेपालको विशिष्ट पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ । दार्चुलाको अर्को अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी । अपि हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि ‘भर्जिन’ स्थल हुन् ।

नेपालकै शिक्षामा अग्रणी भूमिका निर्वाह गर्ने बझाङ जिल्ला जयपृथ्वीबहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षाप्रेमी तथा पत्रकारका कारणले पनि प्रख्यात छ । बझाङ्गी राजाको कोट (दरबार)को ऐतिहासिक महत्व छ । सुर्माभवानी जात्रा एघारौँ शताब्दीबाट सुरु भएको मानिन्छ । सुर्मासरोवर जात्राले धार्मिक पर्यटनको राम्रो सम्भावना बोके पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

यस्ता पर्याप्त पर्यटकीय सम्भावना रहे पनि सुदूरपश्चिमका गन्तव्य पर्यटकका रोजाइमा पर्न सकेका छैनन् । पूर्वाधार विकास र प्रचारप्रसारको कमीले यहाँ पर्यटक आउन नसकेका हुन् । पर्यटकलाई आकर्षित गर्न सरकारी तथा निजी क्षेत्रले पनि प्रभावकारी कार्यक्रम ल्याएका छैनन् । प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकलाई आवतजावतका लागि यातायातको सुविधा नहुनु, सबै जिल्लामा विमानस्थल सञ्चालन नहुनु, सञ्चालन भएका स्थानमा पनि महँगो हवाइ भाडा, रोयल्टी महँगो हुनु, पर्यटकलाई उद्धारको व्यवस्था नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको छैन । रासस