३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक
अ+ अ-

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ ।

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ ।

पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङमा पर्यटक बढेको बताउनुभयो । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएको बताउनुहुन्छ ।

“लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्, नयाँनयाँ होटल पनि थपिएका छन्”, अध्यक्ष चोखालले भन्नुभयो, “दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित बन्दै गएका छन् ।”

अध्यक्ष चोखालले पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकामा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउनुहुन्छ ।

“पहिले बागलुङ कालिका आउने आन्तरिक पर्यटक मन्दिर दर्शन गरेर फर्किने गर्थे, मन्दिरमा डेढ लाख पर्यटक आए पनि बागलुङ बजारमा २५ प्रतिशत मात्रै जाने गर्थे, अहिले बागलुङमा वार्षिक दुई लाख बढी पर्यटक आएको पाएका छौँ, त्यसमध्ये ४५ प्रतिशत बजारमा आउँछन्”, चोखालले भन्नुभयो, “अब फाट्टफुट्ट विदेशी पर्यटक पनि आउने गरेका छन्, अर्को वर्षदेखि थप बढ्दै जाने हाम्रो अनुमान छ, प्रचारप्रचार बढी भयो भने हामीले धेरै पर्यटक बागलुङमा भित्र्याउन सक्छौँ ।”

बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङभित्र रहेको सालिग्राम सङ्ग्रहालय हेर्न जाने पर्यटक सङ्ख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायी उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको बताउनुभयो ।

अध्यक्ष खड्काले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । सामाजिक सञ्जालमा व्यापाकरुपमा प्रचार भएको हुँदा पुलमा आउने आगन्तुक दिनदिनै बढेको उहाँ भनाइ छ । खड्काले पुलसँगै बागलुङ कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा समेत पर्यटकको आकर्षण निकै बढेको बताउनुहुन्छ ।

“लामो पुलले बागलुङको पर्यटन प्रवद्र्धन गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको सङ्ख्यामा मान्छे आउँछन्, अझ बिदाको दिन निकै ठूलो भीड हुन्छ, छोटो समयमा धेरै प्रचारका कारण पर्यटक बढेका हुन्”, अध्यक्ष खड्काले भन्नुभयो, “पुलमा मात्रै होइन, अहिले कालिका, सालिग्राम सङ्ग्रहालय र पञ्चकोटमा पनि पर्यटकको आगमन निकै बढेको छ, यसले बागलुङको पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ ।”

खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो । पुल वरपरका गन्तव्यबाहेक पछिल्लो समय अन्य क्षेत्रमा पनि पर्यटक पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

“अहिले मुुस्ताङको मुक्तिनाथ जाने आधा पर्यटक बागलुङ आउने गरेका छन्, पुलले बागलुङमा व्यापकरुपमा पर्यटक भित्र्याउन मद्दत गरेको छ, यसभन्दा अगाडि मुस्ताङ जाने पर्यटक बागलुङमा १० प्रतिशत पनि आउँदैनथे, पुलकै कारण बागलुङका अन्य गन्तव्य पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्”, उहाँले भन्नुभयो, “पर्यटकलाई थप आकर्षण गर्न प्रचारप्रसारलाई तीव्र पार्ने र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिनु पर्नेछ ।”

उहाँले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताउनुभयो । अहिले जडान भएको लाइट आधा भागमा मात्रै बलेको भन्दै त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ बत्ती जडान गर्न थालेको खड्काले बताउनुभयो । नयाँ बत्ती जडान गर्न रु १२ लाख लाग्ने अनुमान गरेको भन्दै बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाको यस सहकार्य हुने उहाँको भनाइ छ ।

“यसभन्दा अगाडि जडान भएको लाइट सबैले काम गरेन, त्यसले पुलमा हिँड्नेलाई करेन्ट लाग्ने जोखिम बढायो, त्यसलाई हटाए नयाँ लाइट जडान गर्ने काम सुरु भएको छ, यसका लागि रु १२ लाख लाग्ने अनुमान गरिएको छ, यसलाई बागलुङ नगरपालिका र कुश्मा नगरपालिकाले सहकार्य गरेर निर्माण गर्न थालेको छ”, उहाँले भन्नुभयो “बत्ति जडानपछि रातमा पनि पुल वारपार गर्न सहज हुनेछ ।”

‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल पाँच सय ६७ मिटर लामो छ  । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ । पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो । रासस