१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सहकारीको आर्थिक कारोबार ठप्प: बचतकर्ताले पाएनन् रकम

सहकारीको आर्थिक कारोबार ठप्प: बचतकर्ताले पाएनन् रकम
अ अ+ अ-

खोटाङ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो ।

ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तिबाट कर्जा असुलउपर गर्नेदेखि सहकारी ऐन २०७४ बमोजिम सम्बन्धित सबैको नाम, ठेगाना सार्वजनिक गर्ने चेतावनीसमेत सूचनामार्फत दिइएको छ । मौखिकबाहेक १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा तथा राष्ट्रिय दैनिकमा ३५ दिने सूचना निकाल्दासमेत कर्जा चुक्ता गर्न बेवास्ता गरेकाले कडाइ गर्नुपरेको सहकारीले जनाएको छ ।

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेलबजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा जिल्लाका चार हजार पाँच सय बचतकर्ताको लगानी रहेको छ । एकै जना लगानीकर्ताले रु ४५ लाखसम्म बचत गरेका छन् । सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

जिल्ला सहकासी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको हो ।

आफूहरूले थोपा–थोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटीमा परेका छन् । आफूले जम्मा गरेको बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् ।

विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । हाल आक्रोशित बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ जनाउँदै सम्झाइबुझाइ फर्काउने गरेका छन् ।

जोशीले सहकारीको नाममा खरिद गरिएको जग्गासमेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आव २०७७÷७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी संस्थाका सदस्य तुलसीराम आचार्यले बताउनुभयो ।

बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरुमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेको स्रोतले जनाएको छ ।

सहकारीको जग्गाबाहेक सावाँ–ब्याजसहित करिब रु १० करोड ऋण लगानी रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँ–ब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई उनीहरुको बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था रहेको सदस्य आचार्यले बताउनुभयो । चल–अचल सम्पत्ति हेर्दा सहकारी डुबेको नभई सङ्कटमा फसेको देखिन्छ ।

अधिकांश ऋणी जोशीका परिवार तथा आफन्त, दिक्तेल बजारका प्रतिष्ठित व्यापारी र एकजना पोखराका व्यक्तिसमेत देखिएका छन् । उनीहरुले सञ्चालक समितिको निर्णयबिना नै विभिन्न समयमा ऋण लगेको तर हालसम्म फिर्ता नगरेको लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ ।