२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ सङ्क्रमित



अ+ अ-

एजेन्सी । भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको छ । 

औसतमा देशभरी दैनिक ३०÷४० हजारसम्म सङ्क्रमित हुने गरेको भारतमा अहिले केरलामा मात्रै त्यति सङ्क्रमित देखिन थालेका हुन् । केरलामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरी नै चासो र चिन्ता थपिएको स्वास्थ्य अधिकारीले बताएका छन् । 

देशभरी दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेका बेला केरलामा फेरि अत्यधिक बढेपछि सबैको ध्यान केरलातर्फ मोडिएको छ । केरलाको मात्रै कूल सङ्क्रमितको सङ्ख्याभन्दा मुलुकको बाँकी सबै ठाउँमा सङ्क्रमितको सङ्ख्या थोरै रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा देशभरी सङ्क्रमितको सङ्ख्या ४६ हजार ७५९ रहेको छ । सोही अवधिमा कोरोनाका कारण मात्रै देशभरी मृत्यु भएकाको सङ्ख्या ५०९ रहेको अधिकारीले जानकारी दिएका छन् । तीमध्ये १७९ जना केरलाका मात्रै रहेका छन् । 

भारतमा अहिले कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २६ लाख ४९ हजार ९४७ पुगेको छ भने तीमध्ये तीन लाख ५९ हजार ७७५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३१ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड १८ लाख ५२ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कूल चार लाख ३७ हजार ३७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।