२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमाथिको छलफलमा कस्ले के भने त ?



अ+ अ-

काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको हो ।

सन्देशसहित फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उहाँहरुको तर्क छ । बैठकमा सांसद प्रदीप ज्ञवालीले विधेयकलाई ‘हेडकाउण्ट’का आधारमा नभइ राष्ट्रिय सहमतिका साथ पारित गर्नुपर्ने बताउनुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले हिजो के बोलेको हो आज त्यही विषय स्मरण गरी विधेयक पारित गर्न आग्रह गर्नुभयो । सांसद कृष्णभक्त पोखरेलले विधेयक पारित गर्न न्यूनतम् सहमति खोज्न आग्रह गर्नुभयो । सांसद सत्य पहाडीले सबै पक्षमा समान छलफल गरेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने जनाउँदै तत्काल सोही रुपमा नै पारित गर्न आग्रह गर्नुभयो ।

सांसद पदम गिरीले यसअघि विधेयक पारित गर्दा राज्य व्यवस्था समितिले छलफल गरी तयार गरेको प्रतिवेदन कार्यान्वयन नभएको आरोप लगाउनुभयो । सांसद यशोदा गुरुङ सुवेदीले संशोधित विधेयक पारित नभए नागरिकता ऐन २०६३ कायम रहने उल्लेख गर्दै यसलाई क्रियाशील हुनबाट रोक्न संशोधित विधेयक पारित हुनु आवश्यक छ भन्नुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फेले संविधानले नै सबै नागरिकलाई नागरिकता दिने व्यवस्था गरेको जनाउँदै विधेयक राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्छ भन्नुभयो ।

सांसद भरत कुमार साहले नागरिकता नपाएका कारण लाखौँ नागरिक अनागरिक भएर बसेका उल्लेख गर्दै नागरिकता ऐन ल्याएपछि धेरै कुरा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सांसद रामसहायप्रसाद यादवले वर्षौंदेखि नेपाली नागरिक अनागरिक भएर बसेको अवस्थामा तत्काल संशोधित विधेयक पारित गर्नुपर्छ भन्नुभयो ।

सांसद दुर्गा पौडेलले विवाह गर्दैमा तत्काल नागरिकता पाउन योग्य भएको कुनै पनि देशले स्वीकार नगर्ने उल्लेख गर्दै यो विधेयकलाई खारेज गर्न आग्रह गर्नुभयो । सांसद शेरबहादुर तामाङले सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने जनाउँदै मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता मुलुकमा बस्ने नागरिकले नै संरक्षण गर्नुपर्छ भन्नुभयो । सदनमा नागरिकता विधेयकमाथिको छलफल जारी छ ।