६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन मृत्यु रोज्छन् लैंगिक अल्पसंख्यक ?



अ+ अ-

काठमाडौं । केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए। 

धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो। अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन्। ‘अत्यन्तै तनावमा थिएँ। नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन्। तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो। 

नीलहीरा समाजको तथ्यांकअनुसार लकडाउनमा मात्र २४ जना लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले स्वेच्छिक मृत्यु रोजेका छन्। अध्यक्ष गुरुङले भनिन्, ‘बेलैमा उपचार गरेर भण्डारी र अरू ३ जनालाई चाहिँ बचाउन सफल भयौं। 

आवेगमा आएर ज्यानै फाल्ने निर्णय गर्नुको पछाडि विभिन्न कुराले प्रेरित गरेको उनीहरूको तर्क छ। झुटो प्रेम, बुलिङ, अपहेलना, तिरस्कार, परिवार, समाजको अस्वीकार, अनावश्यक दबाब, आर्थिक भार, लैंगिक पहिचान नहुनु आदि मुख्य जड बनेका छन्। 

भण्डारीले पनि आफ्नो वैवाहिक जीवनमा असन्तुलन महसुस गरेकी थिइन्। तर, उनले कसैलाई पनि यस्तो कदम नउठाउन आग्रह गरिन्। भनिन्, ‘शरीर पूरै गलेको छ, निकै गाह्रो हुँदोरहेछ। आवेगमा आउँदा दुःख पाइने रहेछ। जिन्दगीको महत्व बुझौँ, अमूल्य जीवन खेर नफालौं।’ 

लकडाउनकै बीच धनगढीमा समलिंगी महिला जोडीले एउटै रूखमा झुण्डिएर ज्यान फाले। उक्त दुर्घटना निम्तिन आर्थिक समस्या रहेको बताइएको छ। २३ र २४ वर्षका ती जोडी नेपाल–भारत सीमाबाट सामान ल्याएर व्यापार गर्थे तर लकडाउनपछि यो चलेन। 

नीलहीरा समाजमा कार्यरत मिलन शाहका अनुसार सुदूरपश्चिमबाट आएका ती जोडी दिदीको घरका बस्थे। तर, आफन्तहरू पैसा भइन्जेल माया गर्ने र नभएपछि हेला गर्न थाले। ‘व्यापार बन्द भयो। आफन्तले हेला गर्न थाले। आर्थिक भार र अपहेलनाका कारण ज्यानै लिएको देखियो।’ 

राजविराजको घटना पनि त्यस्तै छ। २८ वर्षका पारलिंगी पुरुष काठको काम गर्थे। घरमा रंग पनि लगाउँथे। एउटा बच्चा पालेर बसेका थिए। काम नपाएपछि बच्चालाई ख्वाउन सकेनन्। श्रीमती माइत गइन्। आर्थिक अभावका कारण ती व्यक्तिले आफ्नै ज्यान लिए । 

सामाजिक लाञ्छनाबाट जोगिन यस समुदायका व्यक्तिले इच्छाविपरीत विवाह गर्ने गरेका छन्। सोह्रखुट्टेमा बस्दै आएकी ४० वर्षीया पारलिंगी महिलाको घटना यस्तै छ। उनी छोरीको विवाह गर्ने तयारीमा थिइन्। केही सामान जोडजाड गरिसकेकी थिइन्। लकडाउनमा केही काम हुन सकेन। आर्थिक बोझका कारण उनले पनि आफूलाई सिध्याइन्। जबरजस्तीको विवाहले खुसी नभएको र दिनहुँ बलात्कृत भएको महसुस गरेकाले दुई वर्ष पहिला दाङबाट काठमाडौं आएको बताउने गर्थिन् उनी। 

शाहका अनुसार धरानमा भएको घटनामा २५ वर्षका पारलिंगी पुरुषले परिवारका कारण ज्यान फाले। उनी परिवारमा खुलिसकेका थिएनन्। लकडाउनपछि सधैं घरै बस्नुपर्ने भएपछि परिवारले उनका बारेमा थाहा पाए। नियन्त्रण गर्न थाल्यो। विवाहका लागि बारम्बार दबाब दिएकाले तनाव भएको साथीहरूलाई सुनाउने गर्थे। उनको कुरा साथीहरूले हल्का रूपमा लिए। तर, केही दिनमै उनले पनि आफैंलाई सिध्याएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।