२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ: मन्त्री श्रेष्ठ



फाईल फोटो
अ+ अ-

कास्की ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ । विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”

मन्त्री श्रेष्ठले आगामी अङग्रेजी नयाँवर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो । हालसम्म ९८ प्रतिशत काम सकिएको विमानस्थल सन् २०२३ को जनवरी १ देखी सञ्चालनमा ल्याउने निर्णय केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने बताउनुभयो ।

सातै प्रदेशमा एक वर्षभित्रमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथुम)को कलेज स्थापना गर्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । सुरुआतमा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सो कलेज स्थापनाको योजना रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएकाले पूर्ति गर्नका लागि नाथुमले सफलता प्राप्त गर्ने र पर्यटन शिक्षा चाहनेहरु काठमाडौँ जानुपर्ने अवस्था अन्त्य हुने विश्वास मन्त्री श्रेष्ठको छ । प्रदेशमा नाथुम कलेज स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो ।