२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ



अ+ अ-

पाटन । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो मन्दिर पुनःनिर्माण हुनसकेको छैन ।

आवश्यक निर्माण सामग्रीको जोहो गर्न नसक्दा मन्दिर पुनःनिर्माण अझै अन्योलमै छ । पुनःनिर्माणमा १०० भन्दा बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा त्यसको अभावमा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “इँटाको आकार र प्रकार पुरानो शैलीअनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” समय घर्किँदै जाँदा मन्दिर जीर्ण बन्दै गएको उहाँको भनाइ छ ।

मन्दिर जीर्णोद्धारले मात्रै नपुग्ने अध्यक्ष प्रधान बताउनुहुन्छ । सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रु २० लाख उपलब्ध गराएको सङ्घका सचिव रवि दर्शनधारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मन्दिर जीर्णोद्धार गरेमात्रै पुग्छ भन्ने लागेको थियो, अब पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ ।”

मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशनको रहने इञ्जीनियर प्रणाम होराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शिखरशैलीमा रहेको यस मन्दिरको सबै बुर्जामुनिको काठ मक्किएको छ, सबैजसो इँटा फेर्नुपर्ने अवस्था छ ।” आवश्यक सामग्री तयार नभएसम्म मन्दिर पुनःनिर्माण गर्न नसकिने होरा बताउनुहुन्छ । मन्दिर पुनःनिर्माणका लागि गत वर्ष पुस २९ गते क्षमापूजा गरिएको थियो ।

मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने तयारी छ । इँटाको नमूना झिकेर नयाँ बनाउन दिइएको छ । यसअघि उक्त मन्दिरमा १०८ थरिका इँटा प्रयोग गरिएको पाइएको छ । नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ । लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्यको थालनी गर्नुभएको बताइन्छ । रासस