३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

चराले सफा गर्ने निस्कोट बराह ताल

चराले सफा गर्ने निस्कोट बराह ताल
अ+ अ-

गलेश्वर । गाउँको शिरानमा जङ्गल । जङ्गलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल । प्राकृतिकरुपमा बनेको यो तालको भूबनोट नै अचम्मैको छ । यहाँबाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल । गाउँको शिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् ।

यो तालको नाम बराहताल हो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ नम्बर वडामा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो कोही पनि यो ताल देख्दा छक्क पर्ने गर्दछन् । ताललाई एकोहोरिएर हेरिरहँदा आफै लाई बिर्सन पुग्छन् पर्यटक । निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराहतालमा थोरै पर्यटक पुग्छन् । भौगोलिकरुपमा विकट र प्रचारप्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन् । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् ।

समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ । बराहतालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरुपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयो ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ । पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वन जङ्गलको बीच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिङ्गर हुँदैनन् । पातपतिङ्गर परेमा चराले सफा गर्छन् ।

बराहतालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । निस्कोट गाउँको डाँडाबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक दृश्य देखिन्छन् । निस्कोट गाउँ पर्यटनका साथसाथै कला र संस्कृतिमा पनि धनी छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीतह सुन्न पाइन्छ । बराहताल र निस्कोट गाउँको सुन्दरताले पर्यटकको मन लोभ्याइरहन्छ ।

बराहताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्नका लागि पुग्ने गरेका छन् । बराहतालको पर्यटन प्रवद्र्धन गर्नका लागि वडा र पालिकामार्फत आवश्यक पहल गरिने निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । प्रशस्तै पर्यटकीय सम्भावना रहेको भए पनि यस तालको बारेमा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको वडाध्यक्ष पुनको भनाइ छ ।