११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

केरा खेतीले फेरियो जिन्दगी

केरा खेतीले फेरियो जिन्दगी
अ अ+ अ-

गलेश्वर । केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।

दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उहाँले गाउँमा नै पक्की घरसमेत बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउनुहुन्छ । बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उहाँको भनाइ छ ।

कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपियाँ गाउँमा भित्र्याउने गरेका छन् ।

खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् ।

खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् । बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताउनुभयो ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बबिता सापकोटाले भन्नुभयो, “पाँच रोपनी जमिनमा केराखेती गरेका छौँ वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ ।” छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या छैन उहाँले भन्नुभयो, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौँमा पढाउन पुगेको छ ।” उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो, “केरा लिन बेनीदेखि व्यवसायीहरु घरमै आउँछन्, राम्रो कोसाको प्रतिदर्जन १२० रुपियाँमा बिक्री हुन्छ ।”

त्यस्तै खबराकै हरि कुँवरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा छ लाख रुपैयाँ जति आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । “राम्रो भयो भने केराको एक घरीमा ७०० देखि ८०० सम्म कोसा हुन्छन्,” उहाँले भन्नुभयो, “एक घरीको चार हजार २०० रुपियाँसम्म बिक्री गरेको छु ।”

केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताउनुभयो । कार्कीले खेतका गह्रामा केराका ५०० बिरुवा लगाउनुभएको छ । उहाँका अनुसार तीमध्ये अहिले नै ३०० बोटमा घरी लागेको छ ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनुभएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताउनुभयो ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताउनुभयो । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको केराप्रति १२ कोसा रु १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

विदेशबाट पर्केर केराखेतीमा रमाउँदै युवा

यसैगरी उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् । स्थानीय युवा रमेशबहादुर कटुवाललगायत उहाँका साथीहरुले व्यावसायिक केरा खेतीबाट आम्दानी गर्दै आउनुभएको हो ।

उहाँहरुले वर्षौंदेखि मकै कोदो बालीसँगै रूखबिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै दुईवटा प्लास्टिक पोखरीमा तीन हजार माछाका भुरा हालेर माछापालन, भुइँकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । तीन वर्षदेखि सुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उहाँका बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आउनुभएको छ ।

रोजगारीको सिलसिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रूखबिरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका हुन् । एक हजार केराका बिरुवा लगाएका कटुवालले सिँचाइका लागि हालसम्म व्यक्तिगत रु सात लाख लगानी गरेको बताउनुभयो । व्यावसायिक केरा खेतीमा सिँचाइका लागि खरिया खोलाबाट एक हजार ६०० मिटर पाइप र बनाखी खोलाबाट ९०० मिटर पाइपबाट पानी लिएर बाह्रमासे रुपमा सिँचाइ व्यवस्था मिलाउनुभएको छ । उहाँको फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्र्रे, मालढुङ्गे, ध्रुसे, चिनी लगायतका प्रजातिका केरा खेती गरेका छन् ।

उत्पादन गरेको केरा बिक्रीका सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाज लगायतको क्षेत्रका व्यवसायीले फार्मबाटै किनेर लजाने गरेको कृषक रमेशबहादुर कटुवालले बताउनुभयो । “अन्न बालीलाई जस्तो धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले तीन वर्षदेखि केरा खेती विस्तारमा लागेको छु,” उहाँले भन्नुभयो ।

केरा खेतीबाट आगामी वर्ष तीनदेखि चार लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । आगामी दिनमा केरा खेतीबाट भएको आम्दानीलाई थप केराखेती विस्तारमा लगानी गर्ने लक्ष्यसहित स्थानीय रुपमा बाख्रा र कुखुरापालन गर्ने योजनासमेत कटुवालले बताउनुभयो । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवाहरुले पनि केरा खेती विस्तारमा लागेका छन् ।

केरा पकेट क्षेत्र

बेनी नगरपालिका–२ खबरा, बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । नगर तथा गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममार्फत यहाँका ३०० बढी कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

कृषक शोभित सापकोटाले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताउनुभयो । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,”, उहाँले भन्नुभयो, “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” यी क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुँदै आएको थियो ।

राँखुमा परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेरा खेती गरिएको छ । यसअघि रघुगङ्गा–२ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए । दुवै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम सुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताउनुभयो ।

गत आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । “एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,” सुवेदीले भन्नुभयो, “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरिद गरेका समूहले पाँच हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् ।

ज्यामरुककोटका एक कृषकले १०० देखि पाँच हजारसम्म केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि ज्यामरुककोटलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । केरा खेतीको पकेट क्षेत्र घोषणासँगै कृषकका लागि सिँचाइ व्यवस्था, प्राविधिक तालिम, छिटोछरितो तरिकाले गोडमेल गर्ने मेसिनहरु उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने कृषकहरुको भनाइ छ । रासस