२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजबादीका समस्या: मन्त्रीसहित १० सांसद पुनर्गठनको विपक्षीमा- पत्र सहित



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का १० सांसद मन्त्री हेरफेरको विपक्षमा देखिएका छन् । सो पार्टीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै आफूहरु मन्त्रिमण्डल पुनर्गठन विरुद्ध रहेको बताएका हुन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ तथा छ जना सांसदले सो ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्रीहरुले पटकपटक आफूहरुलाई अपराधीजस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले मन्त्रिमण्डल गर्ने कुरालाई स्वाभाविक मान्न नसकिने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

यसअघि अध्यक्ष नेपालले पार्टीका बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले बजेट अधिवेशन चलिरहेको र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भन्दै मन्त्री हेरफेर गर्न आनाकानी गरिरहनुभएको छ ।

अहिले बजेट पारित भइसकेको छ । त्यसैले अध्यक्ष नेपालले पुनः मन्त्री हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई आग्रह गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरु अध्यक्षप्रति रुष्ट बनेका छन् ।

अध्यक्ष नेपाललाई बुझाएको ध्यानाकर्षण पत्रमा उनीहरुले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न भनेका छन् ।

साथै नयाँ प्रस्ताव गरिएका मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेको, महिलाको सहभागिता नभएको, गैर सांसद र एकैपटक एउटै जिल्लाबाट दुई जनाको मन्त्रीको नाम सिफारिस गरेको तथा पुराना र नयाँको सन्तुलन नमिलाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनीहरुले यी सबै विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु रहनुभएको छ ।