२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलुकको अवस्था भयावह हुने



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ ।

बुधवार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको होे । उहाँले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक शंकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताउनु भयो । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराउनु भयो । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताउनु भयो । एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको बताउनु भयो । उहाँले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई सुझाव स्वरुप गत चैत्र १३ गते १० बुँदे सुझाव दिएका थियौँ । त्यहाँ शनिवार, आईतवारको बिदा गर्नुस्, जोरबिजोर लाइदिनुहोस् भनेको थियौँ ।

अहिलेको विद्युत महशुलमा मानिसले अहिले इण्डक्शन चुलो बाल्दैन । हामीसँग भएको महशुल त अलिकति घटाउनुपर्छ नि । यो महशुलमा अहिलेपनि एलपी ग्यास सस्तो पर्छ । चैत्रमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ । जेठमा ४८ हजार छ, यो भनेको एलपी ग्यास खपत बढीरहेको छ । डरालाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । उर्जा व्यवस्थापन राम्रोसँग गरौँ । हामीले अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायत गरिसकेका छौँ । यस्तो अवस्था छ ।

आर्थिक वर्षमा मुलुक कहाँ पुगिसक्यो । हामीले कम्तिमा बानी सुधार्नुपर्ने अवस्था छ । मुलुकको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको विषय पनि सोच्नुपर्नेछ । उर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ । श्रीलंका आज त्यो अवसमा किन आयो भन्दा राज्यले जनतालाई आफ्नो यथार्थ अवस्था नबताएकोले आयो । हामीले पनि यो विषय जनतालाई बुझाउनु पर्छ । आज मुलुकको अर्थतन्त्र के छ ? कस्तो छ ? पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो, नेपाल आयल निगमले मूल्यवृद्धि गरायो, कर घटाएन भन्ने विषय भन्दापनि मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’

कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।