४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

बालविवाह किन जन्मियो ?

बालविवाह हाम्रो पेवा होइन अवसरवादीले मुखमिठ्याउने मेवामात्र हो

बालविवाह किन जन्मियो ?
अ+ अ-

 

शास्त्र र कानुनले तोकेभन्दा कम उमेरमा पारिवारिक जीवनमा प्रवेश हुनुलाई बालविवाह भनिन्छ । वर र बधूले शारीरिक एवं मानसिक रूपमा परिपक्व नभई गरेको विवाह नै बालविवाह हो । बालिकाहरू नछुने (मिन्स) हुनुपूर्व विवाह गराइदिने कुप्रथा नेपाल र भारतमा धर्मका आडमा केही वर्षअघिसम्म संरक्षित थिए । कतिपयले दश वर्षकी बालिकालाई कन्या भनेका आधारमा यही उमेरमा विवाह गराई राक्षसी प्रथालाई साथ दिए । बालविवाह एकाध भेटिएला तर बालबलात्कार प्रशस्तै सुन्न र देख्न अझैँ पाइन्छ ।

महादेवले सतीलाई, विष्णुले लक्ष्मीलाई बाल्यकालमा विवाह गरेको इतिहास छैन । कुनै पनि ऋषिमुनिले नाबालिकासँग जीवन बिताउन प्रारम्भ गरेका सूचना कुनै पनि ग्रन्थले बक्दैनन् । तथापि बालविवाहको जिम्मा हिन्दूधर्मलाई दिइन्छ, नेपालीसमाजलाई बोकाइन्छ ।

कुनै ऋषिपुत्री वा सर्वसाधारणका छोरीचेली बलात्कार भएको चित्कार आर्यावर्तको माटो र समाजले देख्नुपरेको थिएन । यहाँका शासक गलत थिए तर संस्कार बलीष्ठ भएकाले अहिलेको जस्तो नग्नता पुर्खाले देख्नुपरेन । शिक्षित र सचेत समाजमा बालबलात्कार निको नहुने घाउ बन्दै गएको छ यसको पगरी कसलाई गुथाउने निर्णय भइसकेको छैन ।

हिन्दू धर्मले परिवार, संस्कार र समाजलाई युगानुकूल चलाउन जातिव्यवस्था, वर्णाश्रम र अन्तरगोत्रीय विवाहलाई जोड दियो । एउटै स्वभाव, चिन्तन र संस्कार भएका युवायुवतिलाई विवाह गराउन जातिव्यवस्थाले बाटो खुलायो । फरक गोत्रबीच विवाह गराएर वर्णसंस्कर जन्माउन रोक लगायो । वर्णाश्रमअनुसार व्रतबन्धपछि २५ वर्षसम्म गुरुसँगै बसेर शिक्षा र सीप सिक्न लगाइ बालविवाहमा बन्देज गरायो । कतिपय गुरुकुलमा छात्र र छात्रालाई फरक–फरक स्थानमा अध्ययन, अध्यापन गराइन्थ्यो । अध्ययन अवधिमा घरमा बस्न दिइदैनथ्यो भने विवाह गर्ने प्रसङ्ग नै आउँदैन ।

केही प्रतिभावान्हरु २५ वर्षपहिले नै अध्ययन सकेर घर फर्कन्थे अन्यथा गुरुकुल छोड्नै पाइँदैनथ्यो भने बालविवाह कसरी संभव भयो ? शास्त्रै नपढी, तात्कालिक सामाजिक संरचनालाई अध्ययनै नगरी पश्चिमी आँखा र डलरे सोचले गर्दा हिन्दूधर्मलाई बदनाम र बदखोइ गराउने होड चल्दा विकृति जति नेपालमै थियो, हिन्दूधर्मले मात्रै गलत गर्दथ्यो भन्ने भ्रम फैलिएको छ ।

विवाह गराउने पुस्तक र पद्धतिहरूमा बालविवाहको उल्लेख एवं विधान छैनन् । व्रतबन्ध गराउने ७, ९, ११ वर्षमा गराउने नियम छ तर अध्ययन नसकी विवाह गराउने स्वीकृति शास्त्रले दिएको छैन । बालविवाह धर्म र पुर्खाको स्वीकृति होइन बदमास शासकले मोजमस्तीका लागि तयार गरिएको कुकृति हो ।

महर्षि सुश्रुतले भन्नुभएको छ–
पञ्चविंशे ततो वर्षे पुमान्नारी तु षोडशे ।
समत्वागतवीयौँ तौ जानीयात् कुशलो भिषक् ।।
ऊनषोडशवर्षायामप्राप्तः पञ्चविंशतिम् ।
यद्याधत्ते पुमान् गर्भं गर्भस्थः स विपद्यते ।।

अर्थात्, “सोह्र वर्षकी कन्या र पच्चीस वर्षको युवामा गर्भाधानको क्षमता हुन्छ । त्योभन्दा कम उमेरकी महिलाले गर्भधारण गरेमा गर्भ खेर जान्छ ।” गर्भधारण नै गर्न नहुने उमेरमा विवाह गराउन शास्त्रले सहमति, समाजले अनुमति, परिवारले स्वीकृति देला त ? तथापि केही पुराण र इतिहासका ग्रन्थमा बालविवाहका झलक पाइन्छन् ।

स्वस्थानी कथामा गोबरबाट जन्मिएकी गोमा सात वर्षकी हुँदा सत्तरी वर्षको वृद्धसँग विवाह भएको वर्णन छ । ‘गो’ र ‘ ‘मा’ को अर्थ क्रमशः ‘इन्द्रिय’ र ‘‘होइन’ हुन्छ । जसको जन्म शारीरिकसम्बन्धबाट भएको छैन त्यसलाई गोमा भनिन्छ । आमाको गर्भमा बास नबसी सीता, द्रौपदी आदिको जन्म भएको थियो । अन्य धर्मका युगपुरुषको जन्ममा पनि यस्ता आख्यान जोडिएका छन् ।

गोमा लौकिक नारी थिइनन् । स्कन्दपुराणका अनुसार गोमाको विवाह १३ वर्षमा भएको थियो । उनीको विवाह पारिवारिक जीवन बिताउनका लागि मात्र नभई धैर्य, पूर्वजन्मको कर्मफल आदिको बारेमा पछिल्ला पुस्तालाई जानकारी गराउन भएको हो । सीताले सानै उमेरमा महाबलशालीहरूले उचाल्न नसक्ने शिवधनुष उचालेकी थिइन् ।

अलौकिक, अद्भूत तागत भएका नारीले जे गरे अहिलेका बच्चीले त्यही गर्न सक्दैनन् । अग्रजबाट राम्रो संस्कार, असल शिक्षा सिक्ने हो गलत कर्मलाई निरन्तरता दिने होइन । इतिहासका एकाध अलौकिक घटनालाई लिएर बालविवाह गर्ने हो भने तिनीहरु पनि गोबरबाट जन्मिऊन्, शिवधनुष उचालून्, यज्ञकुण्डबाट उत्पन्न हुन् अनि शास्त्रका पाना पल्टाएर बालविवाहका बारेमा सोचौँला ।

ज्ञानले पूर्ण, शरीर परिपक्व, व्यवहारको जानकार नभईकन विवाह गर्न हुँदैन भन्ने वैदिक मान्यता र विधान छ । कुन्ती, द्रौपदी, देवयानी, शर्मिष्ठालगायतले परिपक्व उमेरमा विवाह गरेका थिए । विशेषरूपले पारिवारिक, सामाजिक, सांस्कृतिक जिम्मेवारी लिनुलाई विवाह भनिन्छ । केटा र केटी परिपक्व नभई कसरी जिम्मेवारी लिन सक्छन् र ? विवाह गर्दा स्वयंवर गर्ने चलन छ ।

स्वयंवरको अर्थ हो आफ्नो योग्यता र इच्छाअनुसार उपयुक्त श्रीमान् वा श्रीमतीको चयन गर्नु । माइतीले बिदा गर्दा साम्राज्ञी होऊ , सबैलाई खुशी बनाई नेतृत्व लिन सकेस् भनी आशीर्वाद दिन्छन् । बच्चीले यो काम गर्न नसक्ने भएकाले बालविवाह वैदिक धर्मले दिएको स्वीकृति र निर्देशन होइन भन्ने प्रष्ट हुन्छ ।

अर्थै नबुझी आई. एन्. जी. ओ., पश्चिमी राष्ट्र र विधर्मीहरूले वैदिक धर्ममा बालविवाह छ भनी भ्रम फैलाएका छन् । उनीहरूका देशमा पुरुष–पुरुष, महिला–महिलाबीचको विवाहलाई कानुन सम्मत बनाएका छन् । विवाह पहिले नै गर्भवती हुनु, भ्रूणहत्या गर्नुलगायतका अमानवीय कार्यलाई न्यायसङ्गत मानेका छन् । बालिकालाई बलात्कारबाट कसरी रोक्ने भन्ने तर्फ न सरकारको ध्यान छ न त समाजको तर घटना घटेपछि त्यसलाई जातमा जोड्ने कि धर्ममा ? भूगोलमा जोड्ने कि संस्कारमा ? त्यसलाई खूब बजारीकरण गरिएको छ ।

हिन्दूधर्मले अर्काकी स्त्रीलाई आमा संझन्छ । हिरण्यकश्यपुले गर्भिणी श्रीमती नारदको आश्रममा छोडे, सीताले बाल्मीकिको आश्रममा आश्रय लिइन्, कुन्तिले दुर्वासा ऋषिको सेवा गरिन् तर कतै बलात्कारको दुर्गन्ध भेटिएन । अहिलेका सामाजिक संस्थालाई होटेलमा मिटिङ गर्न, चर्को मूल्यमा दस्तबेज तयार गर्न फुर्सद छ तर घटनालाई रोक्ने न त नियत छ, न त नीति छ ।

आर्यावर्तमा बालविवाह दशौँ शताब्दीदेखि शुरुवात भएको कुरीति र कुसंस्कार हो । दशौँ शताब्दीसम्म भारतको सोमनाथमन्दिरमा पारसमणि थियो जसले फलामलाई छुवाएर सुन बनाउन सकिन्थ्यो । नेपालमा वासुकि ब्रम्हचारीले राष्ट्रहित गर्ने उद्देश्यले पारसमणि बनाउन खोज्दा अन्धो हुन पुग्नुभयो, पारसमणि पनि बनेन । पशुपतिमन्दिरनजिकै उहाँको समाधिस्थल छ । सुनजस्तो अमूल्य धातु सजिलै प्राप्त भएपछि सोमनाथका साधुसन्त र जनता सौखिन बन्न पुगे । यही मौका पारेर मुसलमानहरूले सोमनाथमाथि आक्रमण गरी ईट्टासमेत डुङ्गा, ऊँट आदिमा राखेर लगे ।

पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
पुत्रस्तु स्थविरे भावे न स्त्रीस्वातन्यभयमर्हति ।।

अर्थात्, “सानो छँदा बुबाले, विवाहपछि श्रीमान्ले, वृद्ध अवस्थामा छोरा–छोरीले स्त्रीलाई संरक्षण गर्दछन् ।” नारी बिग्रिए संसार बिग्रन्छ, पुरुष बिग्रिए आफैँमात्र बिग्रन्छ । त्यसकारण नारीको सम्मान, संरक्षण र इज्जत गर्नु धर्म एवं समाजको पहिलो कर्तव्य हो । भारतमा विशेषगरी दशौँ शताब्दीतिर सामाजिक एकता र सरकारी संरक्षणको अभावमा मुसलमानबाट हिन्दू चेलीबेटीको सुरक्षा गर्न निकै गाह्रो भयो ।

आफ्नै आँखाअगाडि चेलीबेटीको चारित्रिक अपमानको पीडा सहन गर्न कति गाह्रो हुन्छ, त्यसलाई शब्दमा वर्णन गर्न सकिँदैन । मुसलमानहरूले सिउँदोमा सिन्दुर लगाएकीहरूलाई अपहरण र बलात्कार नगर्ने थाहा पाएपछि सानै उमेरमा विवाह गराउन थाले । न त मुसलमानको आक्रमणलाई रोक्न सके, न त अपहरणमा परेका हिन्दूनारीलाई समाजले स्वीकार गर्न सके । यसको चपेटामा परी कैयौँ नारीले आत्मदाह गरे । शासकको अर्कमव्यताले हिन्दूधर्ममा बालविवाहको बीजारोपण भयो ।

यो अपमान सहन नसकी सुरक्षार्थ नेपाल आए । भारतमा बाध्यताले बालविवाह गर्नुपर्ने अवस्थालाई निरन्तरता दिन थाले । पढाई, लेखाई, विदुषी बनाई पाउ पुजी बिदा गर्ने माइतीको परम्परा एवं छोरीजस्तै माया, स्नेह गरी बुहारी भित्राउने संस्कृति वैदिक धर्ममा थियो । राजनीतिक घटना र दुर्घटनाले गर्दा थाहै नपाईकन बालविवाह र बहुविवाह परम्परा बन्न पुग्यो ।

हिन्दूधर्मले न त नाबालिकाहरुलाई विवाह गराउने इजाजत दिएको छ, न त डाँडाकाँडा ढाक्ने गरी सन्तान जन्माउने अनुमति दिएको छ, न त बथानका बथान श्रीमती संकलन गर्ने लाइसेन्स नै दिएको छ । शासकले शास्त्रसम्मत् शासन गरेन, विद्वान्ले न्यायको बाटो हिँडेन भने धर्ममा आगो लाग्छ, समाजमा विकृतिको महामारी फैलन्छ । यसैको उपज हो बालविवाह । वैदिक शास्त्रले देवी संझेर पूज्ने स्त्रीलाई अपमानको शिकार बनाउन विभिन्न पक्षले भूमिका खेलेका छन् ।

गृहेषु मन्त्री करणेषु दासी, भोज्येषु माता शयनेषु रम्भा ।
धर्मानुकूला क्षमया धरित्री षड्गुण्यमेतद्धि पतिव्रतानाम् ।।

अर्थात्, “पतिव्रता नारी घरकी मालिकनी हुन्, काम गर्दा मिहिनेतका साथ गर्छिन्, खाना खुवाउँदा आमास्वरूपमा हुन्छिन्, शयनकक्षमा श्रीमान्का लागि रम्भा नामकी अप्सराजस्ती हुन्छिन्, धर्मको आचारमा उनी धर्तिसमान छिन् ।” ऋग्वेद (३।५३।४)ले भनेको छ– घरको आधार र मुख्य स्थान नै श्रीमती हुन् । शास्त्रहरूले श्रीमतीलाई पुष्पेणापि नताडयेत फूलले पनि नहिर्काउनुु भनेका छन् । स्त्री र पुरुष एक अर्काका पूरक, अर्धाङ्क, अर्धाङ्किनी हुन् ।

वेदले भनेको छ अर्धो ह वा एष पुरुषः यावज्जायां न विन्दते त्यसकारण हामी महादेव–पार्वतीलाई अर्धनारीश्वरको रूपमा पूजा गर्दछौँ । देवीभागवतका अनुसार भगवान्बाट स्वेच्छाले बायाँ भाग नारी र दायाँ भाग पुरुषरूप हुनुभयो । नारी र पुरुषको संयुक्तरूप भगवान् भएकाले यज्ञ, अनुष्ठान, तीर्थव्रतलगायतका कार्यमा श्रीमान् र श्रीमती अनिवार्य सहभागी बन्नुपर्छ ।

श्रीमती नभएकै कारण साधुसन्तले यज्ञ गर्न हुँदैन । दम्पतिले जीवनभर कमाएका पाप, धर्म दुबैले अर्को जन्ममा पाउने र जन्मजन्मान्तरसँगै रहने विश्वास छ । यसकारण पुरुषलाई विवाहपछि पूर्ण व्यक्ति मानिन्छ । शास्त्रहरूमा ब्राम्ह, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैसाच गरी आठ प्रकारका विवाहको वर्णन गरिएको छ तर बालविवाहको चर्चा गरेको पाइँदैन । साधुसन्त बनेर समाजको सेवा गर्ने हाम्रो समाजमा बलात्कारको रोग झण्डै कोरोनाझैँ फैलिएको छ ।

पृथ्वीनारायण शाहको कान्छा सुपुत्र बहादुर शाहले २८ वर्षमा विवाह गरेको विषयलाई पश्चिमाआँखा र बालविवाहलाई आयस्रोत बनाउनेले कहिले सम्झलान् ? हाम्रा शास्त्रहरूले नारीलाई बालविवाह गराई नारकीय जीवन बिताउन होइन, पञ्चकन्या बनाएर पूज्न सिकाएका छन् । शास्त्रले संस्कार, शिक्षा र समाजप्रति सचेत बन्दै नछुने हुने उमेर अर्थात् ४९ वर्ष पहिले विवाह गर्नका लागि भनेको छ, न कि बालककालमै ।

बालविवाह वैदिक धर्ममाथि लगाइएको कलङ्ग हो, नेपालीसमाजलाई बदनाम बनाउने हाउगुजी हो, राष्ट्रको नाक कटाउने खुँडा हो । बालविवाह न त हिन्दूशास्त्रको श्वास हो, न त वैदिक परम्पराको गौरव हो । बालविवाह हाम्रो पेवा होइन अवसरवादीले मुखमिठ्याउने मेवामात्र हो ।