२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा



अ+ अ-

रुकुम । रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ ।

पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आउनुभएको छ । सधैँका वर्ष झँै यसपालि पनि उहाँ स्थानीयवासीबाट यार्सा सङ्कलनका लागि पुपाल पाटन पुग्नुभएको थियो । तर, उत्पादन साह्रै नै घटेको पाएको उहाँले बताउनुभयो । ८/९ वर्षअघि यही पुपाल र पुर्वाङ लगायतको पाटन क्षेत्रमा १५० किलो हाराहारीमा यार्सा सङ्कलन हुने गरेकामा यस वर्षको मौसममा जम्मा १५/१६ किलो हाराहारी यार्सा उत्पादन तथा सङ्कलन भएको बुढाले बताउनुभयो ।

उहाँका अनुसार प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म पर्छ । अहिलेको उत्पादनलाई हेर्ने हो भने जिल्लामा सवा तीन करोड हारहारी यार्सा सङ्कलन भएको छ । उहाँ आफैँले पनि अहिले तीन किलो यार्सा सङ्कलनको अनुमति लिएको बताउँदै यसको मूल्य ६५ देखि ७० लाख हुने बताउनुभयो ।

उहाँका अनुसार एउटा यार्सालाई सात सयदेखि एक हजार २०० सम्म पर्ने गर्दछ । अहिले सङ्कलन गरेको यार्सालाई चाइना, हङकङ या काठमाडौँमा लगेर बिक्री गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । विगत वर्षहरुमा यार्सा धेरै भएर चाइनासम्म लग्दा पनि बिक्री नहुने गरेको स्मरण गर्दै बुढाले अहिले भने यार्सा निकै कम मात्रामा सङ्कलन भएको बताउनुभयो । पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकै समाज घर्तीले पनि यार्सा उत्पादन घटेको बताउनुभयो । पाँच सात वर्षअघि यार्सा सङ्कलन गरेरै प्रतिव्यक्तिले ५० हजारदेखि सात/आठ लाखसम्म आम्दानी गर्ने गरेका थिए । अहिले १० हजारदेखि चार/पाँच लाखसम्म मात्र आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।

विगत वर्षमा यार्सा सङ्कलनका लागि प्रवेश शुल्क लाग्ने गरेको थियो । प्रवेश शुल्क एक हजार ५०० देखि पाँच हजारसम्म लाग्ने गरेको थियो । कोभिडका कारण गएको दुई वर्षमा यार्सा सङ्कलन नै बन्द गरिएको थियो । अहिले खुला गरिएको यार्सा सिजनमा प्रवेश निःशुल्क गरिएको थियो ।

जेठको पहिलो साताबाट सुरु भई साउनको पहिलो सातासम्म चल्ने यार्सा सिजन अहिलेको वर्षमा भने जेठ पहिलो साताबाट सुरु भई अन्तिम साता सकिएको छ । यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी छ ।

पाटन क्षेत्रमा संरक्षणको अभाव, घोडा खच्चड र भेडाबाख्राको चरिचरन र जलवायु परिवर्तनका कारण यार्सा उत्पादन घट्दै गएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकाटस्थित पृथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुनले बताउनुभयो । बर्सेनि यार्सा उत्पादन घट्दै जान थालेपछि यार्सा सङ्कलन तथा बिक्रीवितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरु समस्यामा परेका छन् । रासस