७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चैते धान भित्र्याउन व्यस्त छन् किसान

चैते धान भित्र्याउन व्यस्त छन् किसान
अ+ अ-

भजनी । कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त हुनुहुन्छ । उहाँलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान काटेर वर्षेधान रोपाइँको तयारी गरिरहनुभएको छ । रासायनिक मलको खोजीमा रहनुभएका उहाँले मल पाउनुभएको भए आजसम्म खेत रोपिसकिने बताउनुभयो ।

चौधरीले तीन बिघा जमिनमा चैते धान रोप्नुभएको छ । भजनीका अधिकांश किसान चैते धान भित्र्याउनमै व्यस्त छन् । फागुनको अन्तिम वा चैतको पहिलो साता रोपिएको चैते धान किसानले भित्र्याउन लागेका हुन् । “मौसमले निकै साथ दिएको छ । धान काट्न र सुकाउनका लागि मौसमले साथ दिएपछि खेत रोपाइँभन्दा पाकेको धान भित्र्याउन लागिपरेका हौँ,” रामप्रसादले भन्नुभयो, “हाम्रा लागि चैते धान नै खाद्यान्नको मुख्य आधार हो । वर्षेधान त बाढी र डुबान भएन भन मात्रै भित्र्याउन पाइन्छ । त्यही पनि केही उच्च ठाउँमा वर्षे धान रोप्ने तयारी गरेको छु ।”

भजनीका किसानमा हिउँदे खेती गर्न पाए पनि वर्षे खेतीमा आकर्षण निकै कम हुने गरेको छ । बर्सातमा बाढी र डुबानको निकै जोखिम रहेको भजनीमा अधिकांश क्षेत्र डुबानमा पर्छ । लामो समयसम्म डुबान रह्यो भने लगाइएको अन्नबाली कुहिएर जाने भएकाले लगानी मात्रै गर्नुपर्ने तर उत्पादनको ग्यारेन्टी नहुने भएपछि वर्षे बालीमा आकर्षण कम हुँदै गएको भजनीका अर्का किसान सुन्दर चौधरीले बताउनुभयो । “कतै उच्च स्थानहरुमा किसानहरुले धानबाली रोप्ने गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नगरपालिकाको आसपासका अधिकांश खेतीयोग्य जमिन खाली हुने गरेको छ,” सुन्दरले भन्नुभयो, “चैते धान लगाएका किसानहरूले वर्षे धान लगाउँदैनन् । मौसम राम्रो भयो भने चैते धान सहजै भित्र्याउन सकिन्छ । त्यसैले पनि खेत बाँझै राख्ने गरेका हुन् ।”

भजनी नगरपालिका–६ का विष्णुप्रसाद डगौंराले दुई बिघा जमिनमा चैते धान रोप्नुभएको छ । उहाँले केही धान भित्र्याइसक्नुभएको छ । अहिले पनि विष्णुप्रसाद खेतमै व्यस्त हुनुहुन्छ । वर्षे धानभन्दा राम्रो उत्पादन दिने भएपछि विष्णुप्रसादले १० कट्ठाबाट सुरु गर्नुभएको चैते धानको खेती दुई बिघामा पु¥याएको बताउनुभयो । “वर्षभरिका लागि खाने धान हामी असारमै भित्र्याउने गछांैँ । बर्सातको त भरै हुँदैन ।” विष्णु प्रसादले भन्नुभयो, “खाने र बेच्ने धान चैते धान नै हो । यतिबेला भने धानको समर्थन मूल्य नपाउँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ ।”

वर्षे धानको भन्दा बढी लगानी भने चैते धानमा भए पनि सिँचाइका लागि बढी समस्या हुने गरेको किसानहरुको गुनासो छ । घाम र पानीको सन्तुलन मिल्यो भने उत्पादन राम्रो भए पनि बोरिङको पानीले सिँचाइ गर्नुपर्ने भएका कारण विद्युत्को बिल महँगो हुनजाने गरेको अर्का किसान जङ्गबहादुर साउँदले बताउनुभयो । उहाँले सरकारले अनुदान दिनुभन्दा पनि सिँचाइका लागि बिजुलीमा अनुदान दिएको भए निकै सहज हुन्थ्यो भन्नुभयो । “दिनभर सिँचाइ गर्दा दुई हजारसम्म पनि बिजुलीको बिल आउने गरेको छ । सरकारले कृषिका लागि बिजुलीमा अनुदान दिए सहज हुने थियो ।” जङ्गबहादुरले भन्नुभयो, “स्थानीय सरकारसँग पटकपटक भन्ने गरेका छौँ । आश्वासन आउँछ तर बिजुलीमा किसानलाई अनुदान आउँदैन ।”

चैते धानका लागि बजारीकरणको निकै समस्या छ । सरकारले किसानले उत्पादन गरेको धानको समर्थन मूल्य साउनपछि तोक्ने र चैते धानको खेती गर्ने किसानले असारमै धान भित्र्याउने भएका कारण समर्थन मूल्यमा नभई व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान राजेन्द्र विश्वकर्माको गुनासो थियो । “उत्पादन हुन्छ तर बजारीकरणमा निकै समस्या छ । उत्पादन भएको वस्तुको भनेजस्तो मूल्य पाइँदैन ।” राजेन्द्रले भन्नुभयो, “बजारीकरणमा सरकारले ध्यान दिएको भए उत्साहका साथ काम गर्न सकिन्थ्यो । खेती गर्दा उत्साह हुन्छ बिक्री गर्दा निराश हुनुपर्ने अवस्था छ ।”

भजनी, जोशीपुर, कैलारीलगायत क्षेत्रमा सयौँ बिघा क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । केही वर्षपहिले परीक्षणका रुपमा मात्रै हुने गरेको चैते धानको खेतीमा भजनी नगरपालिकाले किसानलाई बीउलगायतमा अनुदानसमेत दिँदै आएको छ । रासस