२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा सुरु भएसँगै मनाङवासीमा त्रास



अ+ अ-

मनाङ । नेपालभर मनसुन फैलिने क्रममा छ । मनसुन फैलने क्रमसँगै वर्षाको सुरुआत भइसकेको छ । वर्षा सुरु भएसँगै हिमाली जिल्ला मनाङवासीको त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीबाट प्रभावित मनाङवासीमा त्रास बढेको हो ।

गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासों गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । वर्षाको सुरुआत भएपछि उनीहरूमा यस वर्ष पनि त्रास बढेको छ । हिउँदको चिसो कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितका लागि सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आसमा छन् ।

वर्षा सुरु भइसकेकाले मनाङवासी तथा विशेषगरी तालगाउँवासीमा त्रास बढेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । सुरक्षित आवास अभावमा उनीहरूले भत्किएका संरचनामा बाढीले ल्याएको गिट्टी, बालुवा, ढुङ्गा हटाएर टिनको टहरा निर्माण गरी बसेको आचार्यले बताउनुभयो । उहाँका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासों गाउँपालिकाले दिएको रु एक लाखले अस्थायी टहरा बनाएर बसेका छन् ।

बाढीपीडितका लागि वर्षायामअगावै स्थानान्तरण वा सुरक्षित बासको व्यवस्था गर्ने योजना तयारी गर्न नसकिएको प्रजिअ आचार्यले बताउनुभयो । तीन तहको सरकारसँग आग्रहपश्चात यहाँका स्थानीयवासी सुरक्षित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । गत वर्ष मस्र्याङ्दी नदीको बाढीले तालगाउँ र सिरानतालको बस्ती तहसनहस पारेको थियो ।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने भनिए पनि वर्षा सुरु हुँदासम्म पनि टहराबाट सार्न नसकिएको उहाँ बताउनुहुन्छ । वर्षा लागिसक्दा पनि सुरक्षित बासको अझै ठेगान नहँुदा पुख्र्यौली थातथलो नै छाड्नुपर्ने हो कि भन्ने चिन्ताले बाढीपीडित रातमा निदाउन नसकेको बताउँछन् ।

सुरक्षित स्थानको पहिचान नहुँदा उनीहरूले व्यक्तिगत तवरमा घर बनाउन समेत पाएका छैनन् । जग्गा अभावका कारण बाढी प्रभावितको सुरक्षित आवास निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

तालगाउँका बाढी प्रभावित मीनकासी गुरुङले टिनको टहरा बनाउन लामो समय कुर्नुपरेको बताउनुभयो । “ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ”, उहाँले भन्नुभयो, “अझै त्रास कम भने भएको छैन । यस वर्ष पनि नदीमा बाढी नआउँला भन्न सकिँदैन । यसको त्रास भने हामीलाई छ ।”

नदी किनारमा रहेको तालगाउँ बाढीको उच्च जोखिमको क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताउनुभयो । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयमाथि निष्कर्ष निकालिनेछ । यहाँका आधा जति बासिन्दा तालमै बस्न इच्छुक छन् ।

सिरानताल र तालगाउँवासीको निजी आवास निर्माण गर्न सकिएको छैन । मस्र्याङ्दी नदी किनारमा रहेको यी गाउँलाई सुरक्षित बनाउनका लागि तटबन्धन लगाउन थालिएको छ । तर पूरा गर्न अझै समय लाग्नेछ ।