७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

खप्तडमा लाग्यो गङ्गा–दशहरा मेला

खप्तडमा लाग्यो गङ्गा–दशहरा मेला
अ+ अ-

डोटी । कोरोना जोखिमको अन्त भएसँगै सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा गङ्गा–दशहरा मेला सुरु भएको छ । यस मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला दर्शनार्थीसहित छिमेकी मुलुक भारतका नागरिकको घुइँचो लागेको छ । कोभिड १९ को प्रभावले दुई वर्षदेखि उक्त मेला लाग्न सकेको थिएन् । अहिले कोरोना जोखिम अन्त भएपछि यहाँ पर्यटक तथा दर्शनार्थीको भीड बढेको स्थानीयवासीहरु बताउँछन् ।

कोरोना महामारीको समयमा यहाँ मेला नलागे पनि सीमित व्यक्तिहरूको उपस्थितिमा नियमित पूजाआजा भने चलिरहेको थियो । यसवर्ष कोरोना जोखिम पनि घटेको तथा जनजीवन सामान्य अवस्थामा पुगेपछि खप्तडमा यो मेला सुरु भएको पूर्वीचौँकी गाउँपालिकाका अध्यक्ष रामप्रशाद उपाध्यायले बताउनुभयो । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीका दिनमा ‘गङ्गा–दशहरा’ मेला लाग्ने परम्परा रही आएको छ । सोही परम्पराअनुसार मङ्गलबार नवमीदेखि नै खप्तडमा दर्शनार्थीहरुले मेला भर्न सुरु गरेका खप्तड पर्यटन वोर्ड सिलगढीले जनाएको छ ।

परापूर्वकालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन् । पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू तथा भारतीय मुलुकमा हिन्दू धर्मावलम्बीको आकर्षण बढेको खप्तड पर्यटन बोर्डका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड गङ्गा–दशहरा मेला पहिले यहाँका केही जिल्लाका नागरिक मात्रै आउने गर्दथे, अहिले प्रचार प्रसार बढेपछि देश विदेशका नागरिक आउन थालेपछि यहाँको रौनक निकै बढेको छ ।”

प्राकृतिक रुपले निकै सुन्दर र मनमोहक खप्तड राष्ट्रिय निकुञ्ज धार्मिक हिसाबले पनि महत्वपूर्ण तीर्थस्थलमध्यको एक हो । खप्तडमा समुन्द्र सतहदेखि करिब तीन हजार दुई सय मिटरमाथि तीनवटा नदीको सङ्गम बनेको त्रिवेणी समेत रहेको छ । सहश्रलिङ्गबाट बगेर आउने सोलिङ खोला ९गङ्गा०, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला ९यमुना० र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम रहेको छ । यही त्रिवेणीधाममा रहेको मनकामना मन्दिरमा गणेश, अन्नपूर्ण, शिवशङ्कर र बसाहका मूर्ति छन् ।

स्कन्द पुराणको मानसखण्डमा पाण्डवहरुले कुरुक्षेत्रमा मारिएका आफ्ना सम्पूर्ण मृतात्माको शान्तिका लागि यही ठाउँमा तर्पण गरेको उल्लेख छ । सोहीअनुसार यस क्षेत्रका बासिन्दा यहाँ आफ्ना पितृको तर्पण गर्ने गरेको शैलेश्वरी मन्दिरका पूजारी प्रेमशङ्कर भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी तर्पणको सबैभन्दा पवित्र समयका रुपमा गङ्गा–दशहरा मेलालाई लिइन्छ । यो समयमा नवमीमा मेला भरेर रातभर जाग्राम बस्दै शीत खाएर दशमीको दिन त्रिवेणीमा स्नान गरेर पितृको तर्पणपछि त्रिवेणीधामको दर्शन गर्दा ठूलो पुण्य पाइने र पितृहरुको वैकुण्ठबास हुने मान्यता छ ।

खप्तड पर्यावरणीय सुन्दरतामा नेपालकै अब्बल गन्तव्य मानिन्छ । सरकारले यसलाई राष्ट्रिय निकुञ्ज बनाएर संरक्षण गरेको छ । पछिल्लो समय खप्तड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र पनि बनेको होटल तथा पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिङ्ग, गणेशस्थान, नागढुङ्गा, केदारढुङ्गाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् ।

यसैगरी खप्तड गङ्गा–दशहरा मेलाकै अवसरमा खप्तडमा यसपटक बृहत प्रतियोगितात्मक कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । उक्त मेलाका अवसरमा डोटी उद्योग वाणिज्य सङ्घको अगुवाइमा विगतदेखि नै विविध कार्यक्रम भइरहेको छ । यसपटक नेपाली सेनाको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुर तथा भैरवप्रसाद गण सिलगढीले सहयोगी भूमिका निर्वाह गर्दैछन् । यसपटक विशिष्ट प्रतियोगिताका रुपमा म्याराथन प्रतियोगिता राखिएको छ ।

सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९ नाममा यो प्रतियोगिता आयोजना गरिँदै छ । म्याराथनमा ४० जना प्रतियोगी र अन्य ८० जना गरेर १२० जना सहभागी हुने जनाइएको छ । म्याराथन प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई/दुई जना र मध्यवर्ती क्षेत्रका दुई जना गरी २० जना सहभागी हुने आयोजकले जनाएका छन् । यस्तै नेपाली सेनाको विभिन्न गुल्म तथा गणबाट २० जना प्रतियोगी सहभागी हुने भैरवगप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिनुभयो । म्याराथनसँगै खप्तडमा भलिबल, सुदूरपश्चिमेली डेउडा गीत प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिने सङ्घले जनाएको छ ।

खप्तड भ्रमण गर्न आउने पर्यटकबाट गएको माघ महिनादेखि हालसम्म दुई लाखभन्दा बढी राजस्व सङ्कलन भएको बताइएको छ । त्यस्तै आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जले बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क लिने गरेको छ ।

यसैगरी त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा–दशहरा मेला तथा जनैपूणिर्माका दिन जात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गर्दछ । खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा तथा सहजताका लागि डोटीको पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा झिग्रानासम्म सडक सुविधा पु¥याइएको छ । झिग्रानाबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको छ ।

खप्तड पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहले विभिन्न किसिमका विकासका काम गर्दै आए पनि केन्द्र तथा प्रदेश सरकारले खासै चासो नदिएको स्थानीयको आरोप छ । डोटीको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरधुरीबाट पर्यटकका लागि होमस्टे शुरु गरिएको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनुभयो ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रुपमा परिचित रहेको छ । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रुपमा वर्णन गरिएको छ । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । खप्तड क्षेत्र जेठदेखि असारसम्म विशाल फाँटहरूमा रङ्गीचङ्गी फूलले ढाकिन्छ । विशाल फाँटहरुमा फुल्ने रङ्गीचङ्गी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरु खप्तड क्षेत्रका प्रमुख विशेषता हुन् । रासस