• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

ललितपुरको प्रमुखमा चिरिबाबु महर्जनको दोस्रो इनिङ, भारी मतान्तरसहित विजयी



ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन भारी मतान्तर सहित दोस्रो कार्यकालका लागि विजयी हुनु भएको छ । महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्नु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, महर्जनले ४२ हजार ७२२ मत प्राप्त गर्नु भएको थियो भने व्यञ्जनकारले २४ हजार ५६० प्राप्त गर्नु भएको थियो ।

महर्जन र व्यञ्जनकारबीच २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला २४ हजार ६४२ मत पाएर महर्जनले व्यञ्जनकारलाई ३२६ को मतान्तरले पराजित गर्नु भएको थियो ।

उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्य २५ हजार ८४ मत पाएर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका बाबुराज बज्राचार्य पराजित हुनुभयो । उहाँले १८ हजार ७५१ मत प्राप्त गर्नु भएको थियो ।

२०७४ को निर्वाचनमा महानगरको उपप्रमुखमा गीता सत्यालले १९ हजार ८१९ मत पाएर निर्वाचित हुनुभएको थियो ।

वर्तमान गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा विजय हासिल गरेको छ । तर काठमाडाैं महानगरपालिकामा भने कांग्रेसका उम्मेदवार धेरै पछि परेका छन् ।

यस्तै गठबन्धनकै तर्फबाट भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेनु दाहाल, पाेखरा महानगरपालिकामा नेकपा (एस) का धनराज आचार्य तथा वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी भइसकेका छन् ।

काठमाडाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा रहेकाले महानगरपालिकामा प्रमुख प्रतीपक्षी दल नेकपा एमालेको उपस्थिति लगभग शून्य हुने भएको छ ।