• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पोखरा महानगरपालिकाः प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी, उपप्रमुखमा एमाले



पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य विजयी हुनु भएको छ । नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको समर्थनमा आचार्य निर्वाचित हुनु भएको हो ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्नु भएको थियो भने थापाले ५२ हजार ८४८ मत हासिल गर्नु भएको थियो ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्नु भयो । गुरुङले ६० हजार ५४६ मत र रानाभाटले ५६ हजार ६६३ मत ल्याउनु भयो । दुई बीचको मतान्तर ३ हजार ८८३ मत रहेको थियो । निर्वाचन सकिएको १२औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

एमालेको २५ वर्षदेखिको प्रभुत्वलाई आचार्यले समाप्त पार्नु भएको छ । यसअघि कृष्ण थापा २०५४ सालमा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । २०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

२०७८ मा एमाले पार्टी विभाजन हुँदा आचार्य माधवकुमार नेपालको एकीकृत समाजवादीमा रहनु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की अध्यक्ष हुनु भएका आचार्य प्रकाशन गृह, जलविद्युत्‌मा लगानी गरेर सफल व्यवसायी पनि हुनुहुन्छ ।

प्रमुखमा निर्वाचित भएपछि आचार्यले छोटो प्रतिक्रिया दिँदै जन्मदेखि मृत्युसम्मका दर्ता प्रक्रिया निःशुल्क गर्ने पहिलो घोषणा हुने बताउनुभयो ।

पोखरामा २ लाख ७ हजार ७१२ मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ जनाले मतदान गरेका थिए ।

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।

महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।”

पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइउने उहाँले बताउनुभयो ।