• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

संसद् अवरोध गर्ने/नगर्नेबारे निर्णय भइसकेको छैनः एमाले उपाध्यक्ष नेम्वाङ (भिडियोसहित)



file

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ ।

मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताउनु भयो ।

उहाँले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताउनु भयो । उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणामा आइरहेकोले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘हामी अहिले नयाँ निस्कर्षमा पुगिसकेका छैनौँ । तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निस्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ ।’

उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताउनु भयो । उहाँले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गर्नुभयो । उहाँले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहीत भएको बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘स्थानीय निर्वाचनको बारेमा म प्रष्ट छु । नेकपा एमाले जो प्रमुख प्रतिपक्ष हो, राज्यको अभिन्न अंग हो । संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । तर आश्चर्यको कुरा सत्तामा रहेका साथीहरुले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले जुन काम कारबाही गर्नुभयो, त्यो आश्चर्यको कुरा हो । त्यो कतै भएको छैन, यहीँ नेपालमा मात्र भएको छ । अहिले हामीले गरेको कामबाट आएको परिणामबाट हामी उत्साहीत छौँ । हामीलाई सबै मिलेर एक्ल्याउने प्रयास भएपनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहीत छु । जे भएको छ त्यो गलत भएको छ । गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरित भएका गठबन्धनहरु देश र जनताको हीतमा हुँदैनन् । त्यही सम्बन्धित पार्टीकै हीतमा पनि हुँदैन । यसै पटक पनि जनताले गरेको निर्णयमा कता कता त्यसको झलक देखिन्छ ।’

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाउनु भयो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । केही ठाउँ बाहेकका अधिकांश स्थानको मत परिणाम आउने क्रममा नै छ । नेकपा एमालेले अपेक्षा गरेजस्तो परिणाम अलि आएको छैन । हाम्रो बिरुद्धमा गठबन्धनको र राज्य संयन्त्रको चरम दुरुपयोग गरेर हामीबिरुद्ध दुई वटा घेराबन्दी गरिएको थियो । त्यसबा बाबजुद पनि हाम्रो ठिकै रिजल्ट आइरहेको छ । त्यसको समीक्षा हुनेछ ।’

प्रमुख सचेतक भट्टराईले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आईरहेको बताउनु भयो । उहाँले स्थानीय तह सदस्य निर्वाचनको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताउनु भयो ।