१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीलाई घाँसको माला !



अ+ अ-

त्यसो त जनताले लगाइदिएको त्यो माला नै हो । तर जनताले कर्णालीमा जे पाए त्यसैको माला लगाए । उनीहरुका अन्तरआत्माले त्यसलाई फूल नै देखे र उने । अनि आफ्ना मुख्यमन्त्रीलाई लगाइदिए । हुनत यो फूल नहुने मौसम भने होइन, किनभने अबको महिना दिनभित्रै पर्छ सायद फूलको पर्व तिहार । तर आज कर्णालीलमा जे उपलब्ध थियो, जनताले यसैलाई फूल ठाने । 

कहिलेकाहीँ त्यसो गर्न नचाहेको भएपनि सयोगले त्यस्तो पनि परिदिन्छ । आज पनि त्यस्तै भएको पनि हुनसक्छ कर्णाली प्रदेशका मुख्यममन्त्री महेन्द्र शाहीलाई । आज कर्णालीमा आयोजित एक कार्यत्रममा उनलाई ४० किलोको माला लगाइएको छ, घाँसको । 

यता मुख्यमन्त्री भने कर्णालीलाई सुनको टुक्रा हो भनेर भाषणा ठोक्दै थिए उता माला तयार थियो घाँसको । सुन फल्ने ठाउँमा फूल नफुल्ने त पक्कै होइन । तर एउटै व्यक्तिलाई ४०/४० किलोको फूल कहाँ पाउनु ? फूलको सत्यानास मात्र होइन कि अपमान पनि हुनसक्छ । किनभने फूल फुलेको खेर जानलाई होइन, श्रद्धापूर्वक चढ्नलाई चाहिँ हो । 

भनिन्छ, फूलको बास्ना डाँडावारि मान्छेको बास्ना डाँडापारि । किनभने मानिसले काम गरेपछि उसको कामको बास्ना डाँडापारिसम्म पुग्ने हो । सादय आज फूल नपाइएको पनि त्यही भएर हो कि ? किनभने डाँडापारि नै पुग्नेगरी मुख्यमन्त्रीले कर्णालीमा कामै गर्न नसकेर पो हो कि ? 

पक्कै हो । यसबाट सबै नेताले के शिक्षा लिउन् भने माला, त्यो पनि ४०÷४० किलोको लगाउनका लागि त काम पनि त्यस्तै गह्रौँ खालको गर्नुपरो नि । अनि पो चढ्छ फूल । कम्युनिजमका माध्यमबाट देशमा समाजवाद स्थापना गर्ने लक्ष्य बोकेर हिँडेका यी मुख्यमन्त्रीले अस्ती त्यतै एक स्वास्थ्य चौकी उद्घाटन गराउँदा धामीझाँक्री लगाएर गराए ।

गणतन्त्र अनि दैलादैलामा मुख्यमन्त्री यसरी आइपुग्दा पनि कर्णालीले धामी झाँक्री नै पाउने हो भने किन लडेको त यतिविधी ? अनि कर्णालीका जनताले कसको र किन आशा गर्ने ? उहिलेका महेन्द्र र अहिलेकामा फरक पर्दैन भने त व्यवस्थाको नामै फेरेर मात्र के गर्नु ? 

हो, कर्णालीले अहिले यही प्रश्न उठाएको छ । यसपालिलाई घाँसकै भए पनि माला त छ । तर जनताका कष्ट र पिर मर्काको चुली यसरी नै चुलिँदै जाने हो भने घाँसकै भए पनि ४० किलोको माला किन ? यो प्रश्न सधैँ गरिनै रहने छन् ।