१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन
अ अ+ अ-

काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।

मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो । आज बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ ।

राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उहाँले बताउनुभयो ।

 भत्कियो भष्मेश्वर घाट नजिकको वाग्मती पुलको पर्खाल 

पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।

पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मङ्गलबार बिहानदेखि लागेको भीड आज बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो ।

करिब १० लाखले गरे पशुपतिनाथको दर्शन

बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए ।  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाउनुभएको थियो । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

गोकर्णेश्वरमा जम्मा भए हजारौँ भक्तजन

यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार रातिसम्म नै भक्तजनको भीड लागेको थियो । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई पनि बिजुली बत्तीले झिलीमिली बनाइएको थियो । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुने र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधनामा सहभागी हुनेले फल प्राप्तिका लागि बालयन्त्रको पूजा आाराधनामा पनि सहभागी हुनुपर्ने शास्त्रीय मान्यता भएकाले पनि पशुपतिनाथ आएका केही भक्तजन गोकर्णेश्वर आउने गर्छन् ।

भक्तजनका कारण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा जम्मा भएको फोहर आज बिहान सफाइ गरिने भएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको मञ्चले प्रत्येक हप्ताको शनिबार नियमितरूपमा बिहान दुई घण्टा गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

नागेश्वर महादेव मन्दिरमा पनि मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । नागेश्वरमा ६ ब्राह्मणद्वारा चारै प्रहर पूजा आराधना एवं रुद्राभिषेक गरिएको थियो । उक्त पूजा प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा गरिन्छ । नागेश्वरमा महाशिवरात्रिका अवसरमा रातिसम्म नै भक्तजनको भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

मन्दिरमा बिहानदेखि रातिसमम हजारौँ भक्तजनले पूजा आराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिमा नागेश्वरको दर्शन गर्नाले मुद्दा मामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको अध्यक्ष रायमाझीले बताउनुभयो । यसैगरी राजधानी र देशभरका शिवालयमा पनि रातिसम्म नै भक्तजनको भीड लागेको थियो । मध्यरातमा फागुन कृष्ण चतुर्दशी तिथि परेका दिन प्रत्येक वर्ष महाशिवरात्रि पर्व पर्छ ।  रासस