• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा

विप्रेषण आप्रवाह फेरि घट्यो, शोधनान्तर स्थिति २ खर्ब ५८ ले ऋणात्मक



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको पछिल्ला आठ महिनाको आर्थिक तथा वित्तिय स्थिति निकै निराशाजनक रहेको देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले देशको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था धेरै खराब स्थितिमा नरहेको बताएको भोलिपल्दै अर्थात आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाका वित्तीय विवरणहरु निकै गम्भीर प्रकृतिका रहेका छन् ।

बैंकका अनुसार, देशको वैदेशिक मुद्राको प्रमुख स्रोतको रुपमा रहेको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत तथा अमेरिकी डलरमा ३ प्रतिशतले कमी आएको छ ।

विप्रेषण आप्रवाह

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई रु. ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति २ खर्ब ५८ अर्बले घाटामा

समीक्षा अवधिमा चालु खाता रु.४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको बैंकको भनाई छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

यस्तै पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १८ करोड रहेको थियो ।

शोधनान्तर स्थिति रु.२ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु १,१७१ अर्ब

२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा रु.११७१ अर्ब कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई रु.१०१८ अर्ब ५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले कमी आई रु.१५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

वैदेशिक व्यापार

चालु आर्थिक वर्षका आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो ( पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई रु.१३०८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

यसैगरी, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.१४ प्रतिशत रहेको, आयात ३८.६ प्रतिशतले र निर्यात ८२.९ प्रतिशतले बढेको, संघीय सरकारको खर्च रु.६७५ अर्ब ३० करोड र राजस्व परिचालन रु.६८४ अर्ब ७० करोड रहेको, विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको, वार्षिक बिन्दुगत आधारमा मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.१ प्रतिशतले बढेको तथा निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Eight Months data of 2078.79)