• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   बटलरको शतकमा राजस्थानले २२४ रनको लक्ष्य पछ्याउँदै कोलकातालाई २ विकेटले हरायो ★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री

आज रामनवमी पर्व देशभर भगवान् श्री रामलाई पुजाअर्चना गरी मनाइँदै (भिडियोसहित)



काठमाडौं । आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पुजाअर्चना गरी मनाइँदै छ ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिनुभएको भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका रामचन्द्र मन्दिरहरुमा आज भगवान श्रीरामको पुजाअर्चना गरी यो पर्व मनाइँदै छ । काठमाडौंमा बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पुजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लागेको हो । भक्तजनहरुले भजन, किर्तनसहित पुजा आराधना गरिरहेका छन् ।

भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उहाँलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उहाँलाई उच्च सम्मान गरी पुजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताउनुभयो । उहाँले भन्नुभयो –  ‘आज श्रीरामनवमी । भगवान श्रीरामको जन्म भएको दिन । भगवान रामलाई मर्यादा पुरुषोत्तम भन्छन् । किनभने उहाँले सबैभन्दा मर्यादामा रहेर काम गरेका हुनाले उहाँलाई पुरुषोत्तम भन्छन् । पुरुषोत्तम भनेको पुरुषहरु मध्येमा भनेको मान्छेमा सर्वश्रेष्ठ भएको हुनाले उहाँलाई हामीले भगवानको रुपमा मानेका छौँ । भगवान रामको अति नै प्रसिद्धी हाम्रो धर्म, संस्कृतिमा छ ।

उहाँ त्रेता युगमा जन्मिनुभएको मानिन्छ । त्रेता युगमा उहाँको जिवनकालमा जहिल्यैपनि उहाँले गर्न खोजेको कुरा रामराज्य । रामराज्य भनेको जहाँ चोर नहोस् । फट्याँइ नहोस् । इमान्दारिता होस् । सत्य, निष्ठामा मानिसहरु रहुन् । र सबै कुरा असल नै असल मानिसहरु बसेर असल कार्य होस् भन्ने चाहाना उहाँको थियो । त्यसैले उहाँलाई हाम्रो संस्कृतिमा अन्त्यन्तै ठुलो मान, सम्मान गरिन्छ । रामनवमीको रुपमा उहाँको भव्य रुपमा पुजा, अर्चना गर्ने चलन छ ।’

वि.सं. १९२८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मुर्ति रहेको छ । यहाँ आजको दिन बिहानैदेखि भक्तजनहरुको लाइन लागेको छ । मन्दिर व्यवस्थापनले आजको दिनमा करिब ४ लाख भक्तजनले पुजाअर्चना गर्ने लक्ष्य राखेको जनाएको छ । पुजा आराधनालाई सभ्य र व्यवस्थित बनाउनका लागि स्वयमसेवक पनि परिचालन गरिएको सदस्यसचिव टण्डनले जानकारी दिनुभयो ।

आजको दिन भगवान श्रीरामचन्द्रको पुजाअर्चना गर्नेले मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।