१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः कोलकता र पञ्जाबबीच भिडन्त



अ+ अ-

एजेन्सी । आईपीएलको १५ औं सिजनको आठौं खेलमा पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् । पञ्जाबको यो सिजनको दोस्रो खेल रहेको छ । उसले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।

त्यस्तै, कोलकाताले पहिलो खेलमा चेन्नईलाई हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो । दुवै टोली प्लेइङ–११ मा केही परिवर्तन गर्दै उत्रिन सक्नेछन् ।

अनुभवी फास्ट बलर कागिसो रबाडा यो खेलमा उपलब्ध हुनु पञ्जाबको लागि खुसीको खबर रहेको छ । रबाडालाई पञ्जाबले ९ करोडमा किनेको थियो । भारतीय फास्ट बलर सन्दीप शर्माको स्थानमा रबाडालाई टोलीमा समावेश गर्न सकिनेछ । यद्यपि, पञ्जाब टोलीमा अझै जोनी बेयरस्टो भने उपलब्ध हुनेछैनन् । उनी तीन दिन क्वारेन्टाइनमा छन् । उनको अनुपस्थितिमा भानुका राजपाक्षेले अर्को खेल खेल्ने मौका पाउनेछन् । राजपाक्षेले आरसीबीविरुद्ध २२ बलमा ४३ रन बनाएका थिए ।

पञ्जाबका अन्य ब्याट्सम्यानले पनि राम्रो खेल पस्केका थिए । पहिलो खेलमा मयंक अग्रवालका अलावा शिखर धवन, लियाम लिभिङ्स्टन, ओडियन स्मिथ र शाहरुख खानले रन बनाएका थिए । बलिङमा भने पहिलो खेलमा अर्शदीप सिंह र राहुल चाहरले मात्र प्रभाव पार्न सकेका थिए । रबाडाको आगमनले टोलीको बलिङलाई मजबुत बनाउनुका साथै युवा बलरलाई पनि मद्दत पुग्नेछ ।

अर्कोतर्फ कोलकाता नाइट राइडर्सको कुरा गर्दा आन्द्रे रसेल आरसीबीविरुद्धको अन्तिम खेलमा घाइते भएका थिए । यदि उनी पूर्ण रूपमा फिट छैनन् भने उनको स्थानमा मोहम्मद नाबीलाई खेलाउन सकिनेछ । पछिल्लो खेलमा अजिंक्य रहाणे र वेंकटेश अय्यरले खासै केही गर्न सकेनन् । यसका बाबजुद पनि टोलीले उनलाई समावेश गर्नेछ ।

कप्तान श्रेयस अय्यर फेरि तेस्रो अर्डरमा खेल्न सक्नेछन् । नितिश राणाबाट टोलीले ठूलो इनिङ्सको अपेक्षा गरेको छ । उनले दुवै खेलमा राम्रो सुरुवात गरेपछि विकेट गुमाएका थिए । कोलकाताको टोलीमा रसेल बाहेक कुनै परिवर्तन भएको छैन । यदि रसेल खेले भने, टोली कुनै परिवर्तन बिना मैदान उत्रनेछ ।