• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानसेनापति ट्रफी २०७८ शुरु



काठमाडौं । नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि शुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, दौड, सुटिङ र आर्चरी विधा समेटिएको छ ।

सेनाले सङ्गठनभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विसं २०६५ सालदेखि यो प्रतियोगिता आयोजना गरेको हो । यसअघि उक्त प्रतियोगिता भदौमा सञ्चालन हुने गरेकामा कोरोना सङ्क्रमण जोखिमका कारण सारिएको हो ।

मुलुकभित्रका हरेक प्रतियोगितामा बर्चश्व कायम गर्दै आएका सैनिक खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै आएका छन् ।

तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १०३ पदक दिलाउनका साथै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको च्याम्पियन घोषित भएको थियो ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली सेनाको तालिम महानिर्देशक सीताराम खड्काले सेनाका सकल दर्जालाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर नेतृत्वदायी भूमिका निर्वाह गर्ने फौज तयार गर्न खेलकुद एक अभिन्न अङगका रूपमा रहिआएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदले सैनिकको आत्मभरोसा वृद्धि गर्ने मात्र नभई टिम भावना कायम राख्नसमेत मद्दत गर्छ ।” उद्घाटन खेलका रूपमा भएको ४०० मिटर महिला दौडमा निर्मला थापा प्रथम, सरस्वती कठायत द्वितीय तथा भगवती थापा तृतीय हुनुभयो ।

पुरुषतर्फको ८०० मिटर दौडमा सुनिलकुमार सुनार प्रथम, बुद्धराम तामाङ द्वितीय तथा सुदीप शाह तृतीय हुनुभयो । प्रतियोगिताका विजयीलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

समारोहमा सेनाका कमाण्डबाट स्थानीय वेशभूषा झल्कने झाँकीका साथै सरायोसहित क्षेत्रगतरुपमा प्रसिद्ध नृत्य प्रस्तुत गरिएको थियो ।