२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले बनाएका ऐन-कानून कार्यान्वयन गर्न सकिएन : कानूनमन्त्री खनाल



अ+ अ-

बागमती । बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताउनुभएको छ । बिहीवार बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताउनुभयो । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ती चरित्र देखाएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्व र कर्मचारी सामन्ती चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसको विरुद्धमा आवाज उठाउनुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले हामी संघीयतामा छौँ । संघीयतामा छौँ तर मलाई अनुभुति भइराखेको छ, संघीयताको मर्म अनुसार यो चल्या छैन । त्यसैले हामीले जति ऐन, कानून प्रदेशमा बनाएका छौँ त्यसलाई कार्यान्वयन गर्न पनि सकिराखेको छैनौँ । अघि भर्खरै मैले हेरे हाम्रो सञ्चार रजिष्ट्रारले देखाउनुभयो एउटा राजपत्रमा प्रकाशित भएको अधिकार प्रदेश छ, त्यसको अर्को मेशिनरी के–के गर्नको लागि अधिकार दिनेचाहीँ संघ छ । हामी जुन राजनीतिक संस्कार बाट हुक्र्यौँ त्यो आफुसँग भएको अधिकार उसले दिन चाहिराखेको छैन । एउटा पक्ष मात्र होइन, अनेकौँ पक्षहरु छन् । त्यसकारणले त्यो सामन्ती चरित्र जो छ, नेतृत्व त्यो चरित्रबाट मुक्त छैन । कर्मचारी मुक्त छैन । राजनीतिक नेतृत्व मुक्त छैन । आम रुपमा यो दुइवटा चरित्रको बारेमा आवाज उठाउनुपर्ने खाँचो छ । मलाई यो कुरा भन्दाखेरी हिच्किचाहट लाग्दैन । राजनीतिमा पनि छ र कर्मचारी संयन्त्रमा पनि छ ।’

मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उहाँले बताउनुभयो । मन्त्री खनालले प्रदेश सरकारले स्थानीय तह कर्मचारी नियमावली र प्रदेश निजामती कर्मचारी ऐन ल्याउने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले गरेको निर्णय कार्यान्वयन त्यतिबेला मात्रै हुन्छ, जतिबेला हाम्रो आफ्नो कर्मचारी हुन्छ । प्रदेशको आफ्नो कर्मचारी छैन । जबसम्म प्रदेशको आफ्नै प्रदेश मातहतको सचिव हुँदैन संघीयता साँचो अर्थमा कार्यान्वयन हुँदैन । संघका कर्मचारीले संघको प्रतिनिधित्व गर्ने हो । संघको भाषा बोल्नुहुन्छ उहाँले । त्यहाँको भाषा त बोल्नुहुन्न । त्यहाँको समस्या त बुझ्नुहुन्न । अनि हामीले गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ ? त्यसो भएको हुनाले हामीले अहिले के गर्दै छौँ भने स्थानीय तह कर्मचारी नियमावली पनि हामी ल्याउँछौँ । प्रदेश निजामती कर्मचारी ऐन पनि हामी ल्याउँछौँ । जतिबेला बाझिन्छ त्यहीँनिर बाँझिएको हदसम्म सच्चिएला, हामी ऐन लिएर आउँछौँ । अब हामी माथिको मुख ताक्दैनौँ । अब हामीले त्यो ऐन लिएर आउँदाखेरी प्रदेशको सचिव प्रदेशकै कर्मचारी हुनुपर्छ भन्ने प्रावधान लिएर आउँछौँ ।’

उहाँले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने पनि बताउनुभयो ।